सन्दीप लामिछाने स्वदेश फिर्ता, फ्रेन्चाइज लिग यात्रा अद्भुत रहेको दाबी

सन्दीप लामिछाने स्वदेश फिर्ता, फ्रेन्चाइज लिग यात्रा अद्भुत रहेको दाबी


काठमाडौं । पाकिस्तान सुपर लिग खेलेर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । स्वदेश फर्किदैं सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो फ्रेन्चाइज लिग यात्रा अद्भुत भएको बताए ।

सन्दीपले लाहोर कालन्दरबाट पाकिस्तान सुपर लिग खेलेका थिए । उनले ९ खेलमा ११ विकेट लिए । तर उनको टिम लिगको पुछारमा रह्यो ।

सन्दीप अब केही दिनमै इण्डियन प्रिमियर लिग खेल्न भारत जानेछन् । विभिन्न लिगमा स्टार खेलाडीहरुको नेतृत्वमा खेल्न पाउँदा आफूले धेरै कुरा सिक्न पाएको उनको प्रतिक्रिया छ ।

तीन वर्ष अगाडि नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेका सन्दीप नेपालका एक मात्र भाग्यशाली खेलाडी हुन्, जसले भारत, पाकिस्तान, अस्ट्रेलिया, क्यानडा, हङकङ, युएई र वेस्ट इन्डिजको क्लबबाट टी–२० फ्रेन्चाइज लिग खेले । उनले टी–२० लिगमा नेपालका ग्लोबल आइकन पनि जिते ।

Logo