नेपालमा तीन करोड जनता १४ सय डाक्टर !

नेपालमा तीन करोड जनता १४ सय डाक्टर !


काठमाडौँ

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको संख्या अत्यन्त न्यून देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १ हजार ४ सय चिकित्सक कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार हालसम्म नेपालमा २३ हजार ५ सय चिकित्सक उत्पादन भएका छन् । तर ती मध्ये थुप्रैको मृत्यु भइसकेको छ भने धेरैजसो रोजगारीका लागि विदेशमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको संख्या करिब ३ हजार छ । सरकारी र निजी तवरमा कार्यरत चिकित्सकको संख्या जम्मा ४ हजार ४ सय छ । श्रेष्ठले दुवै क्षेत्रमा ठूलो संख्यामा चिकित्सक अभाव रहेको बताए । ‘उत्पादनको अनुपातलाई आधार मान्दा चिकित्सक अभाव छैन,’ उनले भने, ‘तर धेरैजसो बिदेसिएका कारण सानो संख्या मात्रै सेवामा छन् । यसले गर्दा चिकित्सक र जनसंख्याको ग्याप फराकिलो हुन पुगेको छ ।’

खोप तथा र गाउँघर क्लिनिकसमेत गरी नेपालमा ३२ हजार ९ सय १४ स्वास्थ्य संस्था छन् । स्वास्थ्य सम्बन्धी जनशक्ति ३५ हजार ५ सय ४४ छ भने ५२ हजार स्वयंसेविका छन् । हालसम्म ५३ हजार २ सय ७८ नर्स उत्पादन भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार एकजना चिकित्सकले बिरामीलाई हेरेर विवेक सम्मत निर्णय लिन र अनुसन्धान गर्न एक दिनमा ३० जनाभन्दा बढी बिरामी हेर्नु उपयुक्त हुँदैन ।

-विश्व स्वास्थ्य संगठन भन्छ : एक हजार जनसंख्याबराबर कम्तीमा एक डाक्टर हुनुपर्छ

-तर नेपालमा १४ सय सरकारीसहित जम्मा ४४ सय डाक्टर कार्यरत छन् अर्थात् एक डाक्टरको भरमा ६७५० जनता पर्छन्

-नेपाल मेडिकल काउन्सिल भन्छ, ‘एक डाक्टरले एक बिरामीलाई २० मिनेट दिनुपर्छ’ तर बिरामीले औसतमा पाँच मिनेट पाउँछन्

-सहरमा ६२.९५ प्रतिशत र गाउँमा ३७.०५ प्रतिशत बासिन्दा छन्, तर डाक्टर सहरमा ८० प्रतिशत र गाउँमा २० प्रतिशत मात्र छन्

नयाँ पत्रिकाबाट

Logo