दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाएको होइन: बाबुराम भट्टराई

दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाएको होइन: बाबुराम भट्टराई


काठमाडौँ

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालीको मौलिक पोशाक मानिएको दौरा सुरुवाललाई आफूले राष्ट्रिय पोशाकबाट नहटाएको स्पष्टिकरण दिएका छन् ।

एपीवान टेलिभिजनको तमासोम ज्योतिर्गमय कार्यक्रममा सोमबार राति टीकाराम यात्रीसँग कुराकानी गर्दै नयाँ शक्ति नेपाल पार्टीका संयोजकसमेत रहेका उनले यस्तो जवाफ दिएका हुन् ।

‘दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाएको होइन’, उनले भने, ‘बरु नेपालीका सबै पोशाकलाई राष्ट्रिय पोशाक भन्नुपर्छ भनेको हो, सबै नेपाली पोशाक राष्ट्रिय पोशाक नै हुन् ।’

मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राका क्रममा जाजरकोट पुगेर दौरा सुरुवाल लगाएका बाबुरामले आफूलाई त्यो पोशाक सजिलो लागेको बताए । ‘पहिलो पटक दौरा सुरुवाल लगाएँ’, उनले भने, ‘मलाई मन परेर लगाएको हो, यसमा कुनै राजनीतिक कारण छैन ।’

बाबुरामले सधैँ एउटै पोशाक लाउनुपर्छ भन्ने बाध्यता नरहेको जवाफ दिए । ‘यत्रा फरक फरक पोशाक छन् । त्यसैले फेरी फेरी लाउनुपर्छ’, उनले भने, ‘आफ्नो इच्छा र रुची अनुसार पोशाक लाउनुपर्छ ।’

अर्को प्रसंगमा बोल्दै बाबुरामले नेपाललाई शान्तिक्षेत्र घोषणा गरिनुपर्ने उल्लेख गरे । ‘तत्कालीन राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न खोज्दा देशभित्रै अशान्ति थियो’, उनले भने, ‘अब देशमा शान्ति आइसकेकाले भारत, चीन जस्ता छिमेकी मुलुक पनि यो मामिलामा राजी हुन्छन्, यसतर्फ अघि बढ्नु जरुरी छ ।’

फरक प्रसंगमा बोल्दै उनले सिके राउतलाई अदालतको सेटिङमा छुटाइएको दाबी गरे । कार्यपालिकाले अदालतलाई प्रभावित पारेर राउतलाई रिहा गरेर सरकारले सम्झौता गरेकाले यसमा आफूले शंकाको दृष्टिले हेर्नु परेको उनले बताए ।

स्मरणिय छ , बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले नै नेपालको राष्ट्रिय पोशाक हटाउने निर्णय गरेको थियो । त्यस यता राष्ट्रिय पोशाकको माग राख्दै विभिन्न संघ संस्थाहरुले पछिल्ला केहि वर्ष यता सरकारलाई दबाब दिदैं आइरहेका छन् ।
अन्नपूर्णबाट

Logo