एकता अधिकारी जसको पुरा भएन इथियोपियाबाट केन्या गन्तव्य

एकता अधिकारी जसको पुरा भएन इथियोपियाबाट केन्या गन्तव्य


काठमाडौं । आईतबार इथियोपियाबाट केन्याका लागि उडेको विमान ६ मिनेटमै दुर्घटनाग्रस्त बन्न पुग्यो । इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार १५७ जना यात्रुले ज्यान गुमाए । ८ जना चालकदलका सदस्यसहित विमानमा सवार सबैले ज्यान गुमाए । विमानमा एक नेपालीसहित ३० भन्दा बढी मुलुकका यात्रु सवार थिए ।

विमान दुर्घटनाबारे इथियोपियन एयरलाइन्सले जानकारी गराएपछि मात्रै एक नेपाली पनि परेको थाहा भयो । त्यसपछि उक्त विमान दुर्घटना सबैलाई चासोको विषय बन्न पुग्यो । हालै नेपालबाट आफ्नो थलो इथियोपिया पुगेर केन्या जाने क्रममा गोरखाकी एकता अधिकारी दुर्घटनामा परेकी रहिछन् ।

‘नेक्स्ट डेस्टिनेसन केन्या’
इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जान इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८ म्याक्स विमानमा चढ्नुअघि एकताले केन्याको झण्डासहित फेसबुकमा पोस्ट गरेकी थिइन् । तर उनी केन्या पुगिनन् ।

उडेको ६ मिनेटमै विमानमा खराबी आयो । लगत्तै राडारको सम्पर्कबाट बाहिर गयो । केही समयपछि समाचार आयो, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो । चालक दलका ८ सदस्यसहित विमानमा रहेका १ सय ५७ जना कोही पनि जीवित भेटिएनन् ।’

एकता विश्व खाद्य कार्यक्रमको लागि गत सेप्टेम्बरमा इथियोपिया गएकी थिईन् । गोरखा मूलघर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत २८ वर्षीया एकताले फेसबुकमा लेखिएजस्तो नेक्स्ट डेस्टिनेसन केन्या बन्न सकेन । एकताका आमा बुबा दुवै अमेरिकामा छन् । शुक्रबार मात्रै उनीहरु छोरी भेट्न अमेरिका उडेका थिए ।

सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत एकता यो पटक दशैंमा टीका लगाउन नेपाल आएकी थिईन् । अदिसअबाबामा सप्लाई चेन अफिसर रहेकी एकता गएको साता दुई दिनको लागि नेपाल आएकी थिईन् । तीन दिदीबहिनीको परिवारमा दुई जना दिदी अमेरिकामा बस्छन् । उनी नेपाल आएर बाबु आमासँग दुई दिन बसेर गईन् ।

भाग्यले बाँचे अर्का नेपालीः
केन्या जाने अर्का नेपालीको पनि टिकट बुक भईसकेको थियो । सोही विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा थिए साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी । तर उनी भाग्यले बाँचे । टिकटमा भएको ढिलाइका कारण उनी जोगिए । जिसीले फेसबुकमा उक्त कार्यक्रमका लागि प्राप्त टिकटका अनुसार आफू उक्त बिमानमा हुनुपर्ने उल्लेख गर्दै आफू नेपालमै रहेको र ठिक रहेको बताएका छन् । साथै आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण उनले सुष्मा दाहाल पोख्रेललाई पनि धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्, ‘ म नेपाल मै छु, ठीक छु । कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार म पनि यो बिमानमा हुनुपर्ने थियो । म आफ्नै कारणले “लास्ट आवर” मा आयोजकलाई जानकारी गराएको थिए । जब त्यो तालिका, बिमान र मलाई प्राप्त टिकट हेरे अनि सम्झिए म अर्को पटक बाँचे। साथ मा Dan मामा होइसिन्थ्यो,फेरी ढाडस दिदै । केहि आफन्त र सुभेच्छुकहारुले गर्नुभएको म्यासेज र चासोका लागी कृतज्ञाता प्रकट गर्छु । जानु पर्ने तर गैएन भनेर Madhav Nepal ज्यूलाई जानकारी थियो । Sushma Dahal Pokharel ले टिकटमा गरिदिएको ढिलाई पनि धन्यबाद लायक रह्यो’

इथियोपिया विमान दुर्घटनामा परेकी अधिकारी को हुन् ?

Logo