चक्रपथ सफाइको १००औँ हप्ता पूरा 

चक्रपथ सफाइको १००औँ हप्ता पूरा 


चक्रपथ सफाइ अभियानको १००औँ हप्तामा बसुन्धरामा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारको मात्र सक्रियताले सरसफाइ एवं वातावरण संरक्षणमा काम गर्न नसकिएकामा नागरिकस्तरबाट भएको अभियानले सहयोग पुगेको बताए ।

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले उपत्यकाका सडक र वाग्मती सहायक नदी सफाइ नगरेसम्म वाग्मती सफाइ महाअभियानले सफलता पाउन नसक्ने भएकाले आफू शहरी विकासमन्त्री भएका बेला विसं २०७४ वैशाख २ गतेदेखि चक्रपथ सफाइ अभियान शुरु गरिएको बताए ।

चक्रपथ सफाइ अभियानकर्मी भूपाल आचार्यले फोहर फाल्न र बाल्न नहुनेमा जनसाधारणमा चेतना जगाउनुपर्नेमा जोड दिँदै सही तरीकाले फोहर व्यवस्थापन गर्न सिकाउनुपर्ने बताए । सफाइ अभियानबाट उठाइएको फोहर ल्याण्डफिल्ड साइडमा लैजाँदा अतिरिक्त रु ४०० तिर्नुपरेकामा सरकारको बेलैमा ध्यान जानुपर्ने उनले बताए । सफाइ अभियानका संयोजक लोकबहादुर टण्डनले १००औँ हप्तासम्ममा ४० हजार मानिस सहभागी भएर एक हजार ५०० मेट्रिकटन फोहर व्यवस्थापन भएको जानकारी दिनुभयो । यस अवधिमा कोटेश्वरबाट स्वयम्भूसम्म सफाइ गरिएको उनले बताए ।

सफाइ अभियानलाई १०० हप्तासम्म ल्याउन सहयोग गर्ने अभियानकर्मीलाई सो अवसरमा सम्मान गरिएको थियो । सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस् रुपमा काम हुन नसकेको र सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्वसी बस्ती हटाउन समेत सरकारले पहल गर्न सकेको छैन ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०२ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । सबै सफाइ अभियानलाई जोडेर सरकारले स्वच्छता महाअभियान शुरु गर्ने वन तथा वातावरणमन्त्री बस्नेतको भनाइ थियो ।

Logo