बलात्कृत ९७ बालिकामध्ये ९ जना बाबुबाटै बलात्कृत !

बलात्कृत ९७ बालिकामध्ये ९ जना बाबुबाटै बलात्कृत !


पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन् ।

सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वद्र्धनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहँुदै कतिपय प्रवृत्तिगत सामाजिक गलत मूल्य, मान्यता र अन्धविश्वासका कारणले पनि बालबालिका यौन दुव्र्यवहारको शिकार हुने गरेका छन् । यसबारेमा अधिकांश घटना बाहिर आए पनि कतिपय घटना बाहिर आउन सकिरहेका छैनन् ।

केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा ९८ बालबालिकामाथि बाल यौन दुव्र्यवहार र बलात्कार भएका घटना प्रकाशमा आएका छन् । यस अवधिमा एक बालक विदेशी नागरिकबाट यौन दुव्र्यवहारमा परेका छन् भने ९७ बालिका बलात्कृत भएका छन् ।

स्वीस नागरिक पिटर भन्ने व्यक्तिले फेसबुकबाट चिनजान गरी नेपाल आएर बाल यौन दुव्र्यवहार गरेका थिए । निजमाथि कानूनी कारवाही अगाडि बढाइएको छ । बालिका बलात्कार भएका घटनामध्ये १२ बालिका सामूहिक बलात्कारमा परेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए । घटनालाई हेर्दा सामूहिक बलात्कारमा परेकी दुई बालिका सुस्तमनस्थितिका थिए । बलात्कारका घटनालाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ३६ बालिका बलात्कार भएको समितिले जनाएको छ ।

प्रतिवेदनअनुसार छिमेकीबाट १९, आफ्नै बुबा तथा हाडनाताबाट १७, प्रधानाध्यापक तथा शिक्षकबाट छ, सरकारी कर्मचारीबाट तीन, घरेलु बालश्रममा रहेका चार र अपरिचित व्यक्तिबाट ११ बालिका बलात्कृत भएका छन् । हाडनाताबाट बलात्कार भएका १७ बालिकामध्ये नौ बालिका आफ्नै बाबुबाट बलात्कार भएका छन् । बलात्कारमा संलग्न अभियुक्तमध्ये १५ बालक नै रहेको र ६० वर्षमाथिका व्यक्तिबाट सात बालिका बलात्कृत भएको सूचना अधिकारी चन्दको भनाइ छ ।

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा पाँच वर्ष वा सोभन्दामुनि नौ, छ देखि १० वर्षका १९, ११ देखि १४ वर्षका ४४ र १५ देखि १८ वर्षका २५ बालिका रहेका छन् । समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण, भेदभाव, अपहरण, उपेक्षा, हेपाइ र बेवास्ताजस्ता हानिकारक अभ्यासबाट संरक्षण गर्नु मुख्य त अभिभावकको दायित्व हो भन्छन  ।

सबैभन्दा कम उमेरको महोत्तरीमा आठ महीने बालिकालाई अपहरणपश्चात बलात्कार गरी हत्या गरिएको छ भने ११ देखि १४ वर्ष उमेरका बालिका धेरै सङ्ख्यामा बलात्कारबाट पीडित भएका छन् । उक्त घटनामध्ये सर्वाधिक चर्चामा रहेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको घटनाका विषयमा हालसम्म पनि सत्यतथ्य बाहिर आउन सकिरहेको छैन । तर अनुसन्धान जारी छ । सत्यतथ्य पत्ता लगाउनेबारे प्रतिपक्ष राजनीतिक दलका नेताहरुले संसद्मा समेत पटक–पटक कुरा उठाउँदै आएका छन् ।

यस अवधिमा ४६ जिल्लामा भएका जम्मा घटनामध्ये जिल्लागत रुपमा विश्लेषण गर्दा सबैभन्दा बढी सप्तरी र पाल्पामा पाँच÷पाँच बालिका बलात्कारबाट पीडित भएका छन् । बालबालिका यौन दुव्र्यवहारबाट मात्र नभई बलात्कार, बालविवाह, हत्या, बालश्रम, बेचविखन तथा ओसारपसार, अपहरण र बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायबाट समेत पीडित हुनुपरेको छ ।

बाल यौन दुव्र्यवहारको अन्त्य गर्ने हो भने सरकार र सरोकारवाला सङ्घ संस्थाले बालबालिकाको हकहित र अधिकारका लागि निर्माण गरिएको संविधान, ऐन/कानून र नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । बाल दुव्र्यवहार जोकसैबाट जहाँ पनि हुनसक्ने भएकाले यस बारेमा बालबालिकादेखि अभिभावकसम्म सबै सतर्क, सचेत र सजग रहन आवश्यक छ ।

Logo