मालपोत टोली गाउँमै पुगेर संयुक्त पुर्जा वितरण

मालपोत टोली गाउँमै पुगेर संयुक्त पुर्जा वितरण


मेलम्ची

हेलम्बु गाउँपालिकाका महिलाले आफूले स्याहार गरेको जमीनको अधिकार श्रीमान् र श्रीमतीको संयुक्त लालपुर्जा बनाएर अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् ।

किसान महिला तथा पुरुषले जमीनमा बराबर काम गरे पनि जमीनको स्वामित्व भने पुरुषको मात्र भएकाले यस दिन उनीहरुले मालपोत टोली गाउँमै आएको बेलामा संयुक्त पुर्जा बनाएका हुन् । हेलम्बु गाउँपालिकाको महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बुमा संयुक्त पुर्जा निर्माण शिविरमा २१५ जोडी श्रीमान श्रीमतीले संयुक्त पुर्जा बनाएका छन् ।

संयुक्त लालपुर्जा निर्माण शिविरमा मालपोत अधिकृत शान्ता बस्न्यातले किसान महिला पुरुषलाई लालपुर्जा हस्तान्तरण गर्दै यो श्रमिक महिलालाई उत्साह थप्ने अभियान भएकाले मालपोत कार्यालयले गाउँमै पुगेर सहयोग गरेको बताउनुभयो । सरकारले १०० राजश्वमा संयुक्तपुर्जा निर्माण गर्न सकिने नीति ल्याएको छ तर सर्वसाधारण भने यसको बारेमा जानकार छैनन् । सो शिविरले सरकारले महिलालाई अधिकार दिने नीति ल्याएको छ भन्ने सन्देश दिएको छ ।

आफूले स्याहारेको जमीनको अधिकार पाएपछि खुशी हुँदै हेलम्बु गाउँपालिका–४, महाँकालकी गोमादेवी तामाङले बल्ल आफूले गरेको श्रमको सम्मान भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँ त्यो घरमा विवाह भए पश्चात् श्रीमती, बुहारी, आमा बन्नुभयो । यसरी उहाँको क्रमशः नाता जोडिँदै गयो । तर उहाँ त्यो घरको सम्पत्तिसँग जोडिनुभएको थिएन । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस उहाँलाई थाहा नभएपनि त्यसै दिन उहाँले जमीनको अधिकारसँग पनि जोडिने मौका पाउनुभयो ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले भूकम्पपश्चात् पनि भूमिमा महिला स्वामित्वका लागि निरन्तर अभियान सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत हेल्भेटास नेपालसँगको साझेदारीमा हेलम्बु गाउँपालिकामा केन्द्रित गरेर संयुक्त पुर्जा निर्माण अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत आत्मनिर्भर केन्द्रले जिल्ला मालपोत कार्यालयसँग सहकार्य गरेर समुदायमै टोली ल्याई हेलम्बु गाउँपालिकाको १५ वटा स्थानमा संयुक्त पुर्जा निर्माण शिविर राखी संयुक्त पुर्जा बनाउन सहजीकरण गरेको छ ।
रासस

Logo