आन्दोलनरत शिक्षकको आन्दोलन स्थगित, के भयो सहमति ?

आन्दोलनरत शिक्षकको आन्दोलन स्थगित, के भयो सहमति ?


काठमाडौं । आन्दोलनरत राहत तथा बाल विकास शिक्षकहरुको आन्दोलन स्थगित गरिएको छ । स्वतः स्थायीको माग गर्दै आन्दोलनमा उत्रिएका राहत तथा बाल विकास शिक्षकहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

बुधबार राती अबेर शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्तापछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । वार्तामा उनीहरुले स्थायीको प्रकृया ‘तोके बमोजिम’ हुने गरी सहमति गरिएको छ । तीन बुँदे सहमतीपत्रको बुँदा नम्बर १ मा पहिले लेखिएको विबरणमा तोके बमोजिम भन्ने शब्द थप गरेर सहमति भएको हो ।

उक्त बुँदामा ‘सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्विकृत दरबन्दीमा परिणत गरी आन्तरिकरखुल्ला प्रतियोगितात्मक परीक्षामा एकपटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि आवश्यक प्रवन्ध गर्ने’ लेखिएको थियो । उक्त बुँदामा ‘तोके बमोजिम’ शब्द थप गरेर हस्ताक्षर गरिएको हो ।

आन्दोलनका क्रममा घाइते भएका शिक्षकहरुको उपचारका लागि आवश्यक प्रवन्ध गर्ने पनि सहमती भएको छ । नेपाल शिक्षक महासंघका पदाधिकारीहरु सहित भएको उक्त वार्तामा पठन पाठन अवरुद्ध हुने गरी काठमाडौं केन्द्रित आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नविन सिंह धामीले जानकारी दिए ।

आन्दोलनरत नेपाल राहत तथा बालविकास शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्ण बहादुर मगर, शिक्षा सचिव खगराज बराल, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापासहित शिक्षकका नेता कार्यकर्ता सहित भएको छलफल पछि २१ जनाले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

शिक्षक अभाव टार्न विभिन्न समयमा नियुक्त करिब ४० हजार राहत शिक्षकलाई दरबन्दीलाई परिणत गरी ८० प्रतिशत खुल्ला र २० प्रतिशत आन्तरिक प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने शिक्षा ऐनको प्रस्ताव विरुद्ध स्वतः स्थायीको माग सहित शिक्षकहरु ५ दिन देखि आन्दोलनमा थिए ।

उनीहरुले आफुहरुलाई विशेष व्यवस्था गर्दै स्थायी गर्न माग गर्दै आएका थिए । तर तयार भएको संघीय शिक्षा ऐनको मस्यौदामा २० प्रतिशत राहत तथा बाल विकास शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने उल्लेख गरिएको थियो ।

यो हाम्रो अन्तिम लडाई होः राहत शिक्षक (भिडियोमा)

Logo