विद्युत प्राधिकरणको ३८ करोड बक्यौता

विद्युत प्राधिकरणको ३८ करोड बक्यौता


पर्सा ।

नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट ३७ करोड ८७ लाख ९ हजार २९४ रुपैयाँ बक्यौता रकम उठाउन सकेका छैनन् । पर्साका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतका १३ स्थानीय तहमा रहेका ३० विद्युत् उपभोक्ता समितिमध्ये २२ वटासँग उक्त रकम बाँकी रहेको केन्द्रका प्रमुख इन्जिनीयर उपेन्द्रनारायण यादवले बताए।

कोरोना सङ्क्रमणको कारण लामो समयदेखिको बन्दाबन्दीले उपभोक्ता समितिसँग रकम उठाउन नसकिएको भन्दै केन्द्रका प्रमुख यादवले भने, “समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिले आफ्ना ग्राहकसँग रकम उठाएर प्राधिकरणलाई नतिर्ने परिपाटीको कारण सो रकम हालसम्म उठाउन नसकिएको भए पनि समयमै रकम भुक्तानी गर्न पत्राचार गरिएको छ ।” विगतमा ४१ दशमलव ७३ प्रतिशत चुहावट रहेकोमा कडाइ गरिएपछि सो चुहावट २८ प्रतिशतमा झरेको जनाइएको छ । सो केन्द्रसँग हाल १३ हजार ग्राहक रहेका छन् ।

यातायातको ११ करोड कम राजश्व

सवारी सरुवा सहमति दस्तुरमा सरकारले नयाँ नियम लगाएको कारण यातायात व्यवस्था कार्यालय (सवारी) पर्सा वीरगञ्जले गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ११ करोड २५ लाख १३ हजार कम राजश्व उठाएको छ ।

सो कार्यालयले आर्थिक वर्ष २०७७/७८ को कात्तिक मसान्तसम्ममा १८ हजार ९४३ सवारी साधन दर्ता गरी रु ३४ करोड १७ लाख ८५ हजार मात्र राजश्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ को कात्तिक मसान्तसम्ममा ४५ हजार २७७ वटा सवारी साधन दर्ता गरी ४५ करोड ४२ लाख ९८ हजार रुपैया सङ्कलन गरेको सो कार्यालयका प्रमुख कुशेश्वर साहले बताए ।

अघिल्लो आर्थिक वर्षमा सवारी सरुवा दस्तुरमा नयाँ व्यवस्था नभएकोले राजश्व बढी उठेको थियो तर यस आर्थिक वर्षमा सो सम्बन्धी नयाँ व्यवस्था गरेकोले राजश्व घटन गएको जनाइएको छ । अघिल्लो वर्षसम्म भन्सारबाट आएको गाडी वीरगञ्ज कार्यालयबाटै दर्ता भई अन्य जिल्लामा जाने गरिन्थ्यो तर देश संघीयतामा गएपछि अब गाडीको सहमति ल्याउँदा वीरगञ्जमा लाग्ने दस्तुर हटाइएकोले राजश्व प्रभावित भएको सो कार्यालयले जनाएको छ ।रासस

 

Logo