दि ब्रेकअपः न पीडा न डुबुल्की

दि ब्रेकअपः न पीडा न डुबुल्की


(मन्दिरा खत्री)

‘लभ अफेयर’ र ‘ब्रेकअप’को कथा समेटिएको आधुनिक प्रेम कथानक चलचित्र हो ‘दि ब्रेकअप’ ।

दि ब्रेकअपको कथा सुरु हुन्छ, नायक आशिरमान देशराज जोशी (आविष्कार) र नायिका शिल्पा मास्के (सारा) को ब्रेकअपबाट । आफ्नो भूतपूर्व प्रेमी प्रेमिकासँग ब्रेकअप भएपछि दुबै जना पढाई र कामको सिलसिलामा अस्ट्रेलिया पुग्छन् । सोही क्रममा आविष्कार र साराको पहिलो भेट हुन्छ ।

सुरुको भेटमा नै संयोगवश उनीहरुको ‘लगेज’ साटिन्छ । यहीबाट सुरु हुन्छ उनीहरुको मेल र बेमेल । लगतै उनीहरुलाई अर्काे संयोग पनि जुर्छ । त्यो हो उनीहरुको काम गर्ने ठाँउ पनि एउटै । बिस्तारै उनीहरु राम्रो साथी बन्छन् ।

आविष्कार र सारा पहिला नै ब्रेकअप फेजबाट गुज्रिएकोले उनीहरुले एउटा कमिटमेन्ट गर्छन् । उनीहरुबीचको सम्झौता अनुसार उनीहरुको मित्रताको बिचमा माया र प्रेमको प्रसंग कहिल्यै आउने छ्र्रैन् । तर, बिस्तारै एकअर्कासँग धैरै समय बिताँउदै गर्दा आविष्कारले सारालाई मन पराँउन थाल्छ र सारा पनि आविष्कारलाई मन पराउन थाल्छिन् । तर, पहिलाको ब्रेकअप पछि सारा रिलेशनशिपमा रहन डराउँछिन् । त्यसैले साराले एक दिन आविष्कारलाई भेट्न बोलाउँछिन् र एक्कासी आफूहरुबीच रहेको रिलेशनशिपको ‘द इन्ड’ भएको घोषणा गर्छिन् ।

त्यसपछि आविष्कारले पनि कहिल्यै सारालाई भेट्ने कोशिस गर्दैन् र नेपाल फर्किन्छ । त्यसको केही महिनापछि सारा र आविष्कारको नेपालमा फेरि भेट हुन्छ । लामो समयसम्म सम्पर्कमा नरहेपछि साराले पनि महसुस गर्न थाल्छिन् कि उनी आविष्कारलाई प्रेम गर्छिन् । तर, यता आविष्कार भने आफू ‘मुभ अन’ भईसकेको कुरा सारालाई भन्छन् । दि ब्रेकअपको अन्तिमको दृश्यमा पनि त्यस्तो नौलोपन केही देखिएको छ्रैन्, जुन दृश्यहरुले प्राय: लभ स्टोरी चलचित्रमा देखिँदै आएका छन् ।

कस्तो बनेको छ दि ब्रेकअप ?

चलचित्रमा त्यस्तो कुनै नौलोपन भने देखिएको छ्रैन् । झट्ट हेर्दा निर्देशक बिसी बलिउड रोमान्टिक फिल्महरुबाट प्रभावित भएको झैँ लाग्न सक्छ । दि ब्रेकअप पनि अन्य लभस्टोरी फिल्म जस्तै साधारण कथामा बनेको छ । चलचित्र हेरिरहँदा दर्शकहरु अलि ‘बोर’ भएको महसुस गर्न सकिन्छ किनभने चलचित्रका दृश्यहरु कँही कतै अलि ‘स्लो’ लाग्न सक्छ । यस पक्षमा भने निर्देशक हेमराज बिसी चुकेका छन् ।

त्यस्तै साउण्ड डबिङमा पनि त्यस्तै समस्या देखिएको छ । साउण्ड कँही ‘लाउड’ छ, त कँही निकै ‘स्लो’ र अस्पष्ट सुनिएको छ । साउण्ड डबिङमा पनि निर्माण पक्षले अलि मिहेनत गर्नुपर्ने देखिएको छ । अरु कलाकारहरुको तुलनामा नायिका शिल्पा मास्केको अभिनय भने निकै अब्बल देखिएको छ । यो चलचित्रले पनि अरु नेपाली चलचित्र झै पुरानै ट्रेण्डलाई नै पछ्याएको देखिन्छ ।

चलचित्र हेरिरहेका दर्शकले ‘यो पछि यो हुन्छ’ भनेर सहजै अनुमान लगाउन सक्छन् । चलचित्रको कथाले भन्दा पनि दर्शकहरुलाई चलचित्रमा देखाइएको ‘लोकेशन’ले भने पक्कै लोभ्याएको छ । अधिकांश छायांकन अस्ट्रेलिया र पोखरा लगायतका रमणीय स्थानमा गरिएको छ ।

राम्रो र नराम्रो पक्ष

यस चलचित्रले आजकलका युवायुवती माझ देखिएको आकर्षण, प्रेम र बिछोडको दृश्यलाई समेटिएको छ । चलचित्रमा आशिरमान र शिल्पाको अन्तरंग दृश्यहरु धेरै छन् । जसलाई चलचित्रमा बढी प्राथमिकता दिईएको पाइन्छ । चलचित्रमा ‘किस सिन’ बढी छ जुन अलि अस्वभाविक लागेको छ । चलचित्रमा यति धेरै ‘किस सिन’ आवश्यक देखिदैन । अहिलेको बदलिदो समाजसँगै दि ब्रेकअपले पनि खुल्मखुल्ला यौन सम्बन्धको बारेमा ‘अब नेपाली समाज पनि परिर्वतन हुँदैछ है’ भन्ने भान पक्कै गराएको छ ।

नायक रेमन दास र नायिका ईच्छा कार्कीले पनि यस चलचित्रमा राम्रो अभिनय गरेका छन् । त्यस्तै यो चलचित्र हेरिरहँदा नायक सलोन बस्नेत माथि भने दया जागेर आउँछ । दि ब्रेकअपमा सलोनको ‘गेष्ट रोल’ रहेको छ । दुःखद त के छ भने यस चलचित्रमा उनको एउटा संवाद पनि छ्रैन् । एउटा दृश्यमा उनी झलक्क देखिन्छन् । अनि कता हराउँछन् दर्शकले कुनै मेसो नै पाउँदैनन् । सारा र आविष्कारको ‘अनस्क्रिन ब्रेकअप’ले दर्शकलाई अलि कति पनि दुःखी बनाएको छैन । दि ब्रेकअपमा त्यस्तो ‘रोनाधोना’ वाला दृश्य पनि खासै छैन ।

निर्देशन, लेखन तथा पटकथा: हेमराज बिसी

र्निमाता : रुपक थापा, दिपक खतिवडा, रेणु राणा र हेमराज बिसी

कलाकार : आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमन दाश श्रेष्ठ, ईच्छा कार्की, सरोज खनाल

जनारा : आधुनिक लभस्टोरी

समयावधि :  २ घण्टा ५ मिनेट

Logo