विमानस्थलमा १५ सय दुर्लभ कछुवा बेबारिसे अवस्थामा फेला

विमानस्थलमा १५ सय दुर्लभ कछुवा बेबारिसे अवस्थामा फेला


मनिला

फिलिपिन्सको विमानस्थलमा तस्करहरुले छाडेका झण्डै एक हजार ५०० कछुवा बेबारिसे अवस्थामा फेला परेका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार टेपले बेरेको अवस्थामा ती कछुवाहरु विमानका यात्रु बस्ने ठाउँमा आइतबार भेटिएको हो ।

दुर्लभ जीवजन्तुको ओसार पसार तथा बेचविखन गर्नु अवैध हुने भएकाले कारबाहीमा परिने डरले तस्करहरुले छाडेर भागेको अधिकारीहरुको भनाई रहेको छ । अमेरिकाको विदेश विभागले दुर्लभ जीवजन्तु ओसार पसारका लागि फिलिपिन्स एउटा महत्वपूर्ण श्रोत र पारबहन केन्द्रको रुपमा रहेको जनाएको छ ।

हङ्कङ्गबाट आएका फिलिपिन्सका यात्रुको कपडा, झोला र जुत्ताले ढाकेको अवस्थामा ती कछुवाहरु आइतबार भेटिएका हुन् ।
बरामद गरिएको कछुवालाई वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तानन्तरण गरी घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको अधिकारीले बताएका छन् ।

विमानबाट जफत गरिएका कछुवाको मुल्य झण्डै ८७ हजार अमेरिकी डलर पर्ने बताइएको छ । यस्ता तस्करलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुने फिलिपिन्सको कानुनी व्यवस्था रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

रासस/एएफपी

Logo