नक्कली पासपोर्टमा काठमाडौं पसेका तीन इरानी निष्काशित

नक्कली पासपोर्टमा काठमाडौं पसेका तीन इरानी निष्काशित


काठमाडौं

गृह मन्त्रालयले टर्की र ग्रिसको नक्कली राहदानीमा काठमाडौं पसेका ३ जना इरानीलाई नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाइएको छ । गृहले मोहम्मद नाज्मी, उनकी पत्नी आतेफ र छोरा अमिन इस्ताकरलाई ५ वर्षका लागि निष्काशन गरेको हो । उनीहरू भारतबाट स्थलमार्ग हुँदै काठमाडौं आएका थिए ।

पुस १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जाने क्रममा त्यहाँको अध्यागमनले ग्रिसको राहदानीमा भएको नेपालको भिसा शंकास्पद भन्दै उनीहरूलाई फिर्ता पठाएको थियो । अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूलाई गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको फागुन १० को सचिवस्तरीय निर्णयले नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाई निष्काशन गरेको हो ।

जाली राहदानीमा नेपाललाई ट्रान्जिट बनाइ ओहोरदोहोर गर्ने इरानीको संख्या केही समययता ह्वात्तै बढेको छ । उनीहरूले एउटै परिवार बताए पनि अनुसन्धानबाट पुष्टि भएन । मोहम्मद मानव तस्करीमा संलग्न भएको आशंका गरिए पनि पुष्टि हुन सकेन । इन्टरपोलको रेकर्ड अनुसार उनीहरूले बोकेको राहदानी टर्की र ग्रिसको भएको र ती हराएका वा चोरिएका (एसएलटीडी) हुन् ।
अन्नपूर्णबाट

Logo