सेवाग्राहीको धेरै भिडभाड हुने सरकारी अड्डामा अख्तियारले गुप्तचर खटाउँदै

सेवाग्राहीको धेरै भिडभाड हुने सरकारी अड्डामा अख्तियारले गुप्तचर खटाउँदै


काठमाडौं
सर्वसाधारणको भिड हुने सरकारी कार्यालयमा अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने भएको छ ।

छिटो सेवा प्रवाहका नाममा घुस लिने कर्मचारीलाई सुधार्न आयोगले नयाँ कार्यक्रम सुरु गर्न लागेको हो । मालपोत, यातायात, कम्पनी रजिस्ट्रारको कार्यालय, अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह लगायतका कार्यालयमा आयोगबाट गोप्य रूपमा कर्मचारीलाई सेवाग्राहीको भेषमा खटाउन लागिएको हो । केही दिनमै यो कार्यक्रम सुरु हुने आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । ‘सेवाग्राहीहरू अख्तियारका कर्मचारी पनि हुन सक्छन् भनेर कर्मचारीहरू घुस खान डराउँछन् कि भन्ने हो,’ प्रवक्ता दंगालले भने, ‘भ्रष्टाचार नियन्त्रणमा यो हाम्रो निरोधात्मक शैली हो ।’

स्रोतका अनुसार अडियो र भिडियो रेकर्ड गर्ने गोप्य डिभाइससहित सरकारी कार्यालयमा ‘जासुस’ खटाउन लागिएको छ । त्यसरी खटिएका आयोगका कर्मचारीले घुस लिएको देखेमा रंगेहात पक्राउ गर्नेछन् । ‘यसबाट ती कार्यालयमा हुने अन्य भ्रष्टाचारको सूचना संकलनमा पनि हामीलाई सहयोग पुग्नेछ,’ आयोगका एक अधिकारीले भने, ‘यसबाट सरकारी कार्यालयमा थोरै भए पनि भ्रष्टाचार घट्ने हाम्रो अपेक्षा छ ।’
नयाँ पत्रिकाबाट

Logo