राप्रपाको जनसंघर्ष अभियान आज पाँचौं दिनमा, हिन्दू राष्ट्र पुनःस्थापनाको माग

राप्रपाको जनसंघर्ष अभियान आज पाँचौं दिनमा, हिन्दू राष्ट्र पुनःस्थापनाको माग


काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले ताप्लेजुङबाट सुरु गरेको हिन्दू राष्ट्र पुनःस्थापनाको माग सहितको जनसंघर्ष अभियान पाँचौं दिनमा जनकपुर पुगेको छ । हिन्दू राष्ट्र पुनःस्थापनाको मुख्य माग सहित राप्रपाले १५ फागुनबाट ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरुवात गरेकोमा उत्साहजनक जनसहभागितासहित चौंथो दिन शनिबार धनुषाको जनकपुर पुगेको हो । स्वाभिमान यात्रामा अध्यक्ष कमल थापा सहितका शीर्ष नेता आफैं सहभागी भएका छन् ।

हिन्दू राष्ट्र स्थापनाको मुख्य माग सहित सुरु गरिएको अभियानमा धनुषासम्म पुग्दा उत्साहजनक सहभागिता पाइएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १५ फागुनबाट यात्राको सुरुवात ताप्लेजुङबाट भएकोमा फिदिम आएर सभामा परिणत भएको थियो । यस्तै दोस्रो दिन फिदिमबाट इलाम हुँदै झापामा आएर यात्रा टुंगिएको थियो भने तेस्रो दिन झापाको दमकबाट सुरु भएको यात्रा लहान पुगेर सभामा परिणत भएको थियो ।

यस्तै चौथो दिनको यात्रा शनिबार लहानबाट सुरु भएर धनुषाको जनकपुरमा पुगेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँचौं दिनको यात्रा आइतबार जनकपुरबाट सुरु हुनेछ ।
राजधानीबाट

Logo