पशुपतिक्षेत्रमा ६ हजार साधुसन्त : भोली शिवरात्री

पशुपतिक्षेत्रमा ६ हजार साधुसन्त : भोली शिवरात्री


काठमाडौँ
पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिका लागि विगतको भन्दा साधुसन्तको आगमन बढेको छ ।

महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य–सचिव डा प्रदीप ढकालले बताउनुभयो । शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको उहाँले बताउनुभयो ।

फागुन २० गते महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउट लगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइनेछ ।

भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एक हप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिनेछ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी १०० संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको छ ।

साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र चिसोबाट बच्न धुनी बाल्ने व्यवस्था गरिएको छ । फागुन २२ गते बुधबार सबै साधुसन्तलाई दान–दक्षिणासहित बिदाइको तयारी कोषले गरेको छ ।

यस्तो छ दर्शन मार्ग

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयवागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक÷एक गरी दुई लाइनको व्यवस्था गरिएको सदस्य–सचिव ढकालले बताउनुभयो ।

भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राममन्दिरतिरबाट समेत एक लाइनको व्यवस्था गरिने छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चावहिल चक्रपथमा दर्शनार्थीको चाप अनुसार सवारी एकतर्फी गरिनेछ ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन गर्नेछन् । आइतबारदेखि नै पश्चिम मूल ढोकाअघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन गरिनेछ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङ लगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।

मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । ज्येष्ठ नागरिक र अशक्तलाई दर्शन गर्ने विशेष व्यवस्था मिलाइएको जनाइएको छ । पर्वको तयारीका लागि आठ उपसमिति गठन गरी सबै तयारी अन्तिम चरणमा पुगेको छ ।
रासस

Logo