आईएनजीओे र एनजीओको १ खर्ब ९ अर्ब लगानी, अनुगमन नहुँदा लगानीमा प्रश्न

आईएनजीओे र एनजीओको १ खर्ब ९ अर्ब लगानी, अनुगमन नहुँदा लगानीमा प्रश्न


काठमाडौँ

आर्थिक वर्ष २०७४/७५ मा मात्रै मुलुकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओे) र गैरसकारी संस्था (एनजीओ) ले १ खर्ब ९ अर्ब रुपैयाँको परियोजना सञ्चालन गरेको पाइएको छ । समाज कल्याण परिषद्का अनुसार विगत एक वर्षमा आईएनजीओेले ८९ अर्ब २० करोड ८६ लाख ९४ हजार ४८९ रुपैयाँ र एनजीओले २० अर्ब १ करोड ४२ लाख ७३ हजार ६७२ रुपैयाँ लगानी गरेका छन् । परिषद्का अनुसार अहिले ७२३ वटा एनजीओले १ हजार १८१ वटा परियोजना मार्फत कार्यक्रम सञ्चालन गरिरहेका छन् । २० वटा आईएनजीओेले १ अर्ब भन्दा बढीका परियोजना सञ्चालन गरिरहेको पाइएको छ ।

त्यति धेरै रकम लगानी गरे पनि आईएनजीओ र एनजीओले सञ्चालन गरेका परियोजनाबारे सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन सकेको छैन । नेपालको चालू आवको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रहेको छ । नेपालको कुल बजेटको झन्डै ७ दशमलव ७ प्रतिशत जति बजेट एनजीओ र आईएनजीओेले खर्चेको पाइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले आईएनजीओे र एनजीओले सञ्चालन गरेका परियोजनाको प्रभावकारी अनुगमन हुन नसक्दा उनीहरूको पारदर्शितामा प्रश्नचिह्न सिर्जना हुन पुगेको बताए । त्यति धेरै रकम खर्चने एनजीओ र आईएनजीओेका बारेमा विशेष संयन्त्र बनाएर नियमित अनुगमन गर्न जरुरी रहेको राईले जनाए ।

आईएनजीओे र एनजीओको रकमको प्रभावकारिताबारे अनुगमन गर्ने जिम्मेवारीमा रहेको समाजकल्याण परिषद् आफैं बिरामी अवस्थामा पुगेको छ । सरकारले केही समय अघि मात्रै परिषद्का उपाध्यक्ष, सदस्य सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारीलाई अनियमिततामा मुछिएको भन्दै बर्खास्त गरेको थियो । अहिले मन्त्रालयले सहसचिव राजेन्द्रकुमार पौडेललाई सदस्य सचिवको जिम्मेवारी दिएको छ । सदस्य सचिव पौडेलले अब विशेष संयन्त्रमार्फत अनुगमन प्रभावकारी बनाइने दाबी गरे ।
राजधानीबाट

Logo