हाल सम्म ताप्लेजुङमा मात्र हवाई दुर्घटनामा ३ मन्त्रीको मृत्यु

हाल सम्म ताप्लेजुङमा मात्र हवाई दुर्घटनामा ३ मन्त्रीको मृत्यु


ताप्लेजुङ

नेपालको हवाई दुर्घटनाको इतिहास हेर्दा पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा हालसम्म भएका हेलिकप्टर तथा जहाज दुर्घटनामा तीन जना मन्त्रीहरुको मृत्यु भएको छ ।

आज भएको हवाई दुर्घटना ताप्लेजुङमा १३ वर्ष पछि भएको हो । आजको दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाएका छन् ।

यस अघि सोहि जिल्लामा वि.सं. ०६३ साल असोज ७ गते कञ्जनजंघा संरक्षण क्षेत्र आयोजना समुदायमा हस्तान्तरण गर्न ताप्लेजुङ आइपुगेका तत्कालीन वन मन्त्री गोपाल राई चढेको हेलिकप्टर घुन्साको ढुङ्जे पहाडमा ठोक्किंदा उनी लगायत उनकी श्रीमती सहित २४ जनाको मृत्यु भएको थियो । त्यतिबेला श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो । यस दुर्घटनामा मन्त्रीकी श्रीमती मिना राई, भूगोलविद हर्क गुरुङ, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि चन्द्रप्रसाद गुरुङ लगायतको मृत्यु भएको थियो ।

यसैगरि पञ्चायत कालमा ताप्लेजुङबाट नै प्रतिनिधत्व गर्दै पहिलो पटक राज्यमन्त्री बनेका चन्द्रबहादुर पालुवाको पनि हवाई जहाज दुर्घटनामा परि ज्यान गएको थियो । त्यतिबेला ताप्लेजुङको सुकेटारबाट उडेको केही मिनेटमै जहाज आकाशमै आगो लागेर दुर्घटना भएको र मन्त्री पालुवासँगै ११ जनाले ज्यान गुमाएका थिए ।

यसरी हेर्दा ताप्लेजुङले हवाई दुर्घटनामा ३ भिआइपी मन्त्री सहित अन्य नागरिक गुमाएको इतिहास बनाएको छ ।

Logo