अब नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश बन्ने

अब नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश बन्ने


काठमाडौँ

नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश बन्ने भएको छ । लोप हुन लागेकाबाट भाषा आयोगले काम थालेको छ । नेपालमा २९ अति लोपोन्मुख र ३७ वटा लोपोन्मुख भाषा छन् । ‘हामीले केही भाषाको शब्दकोश निर्माण गरिसकेका छौं’, आयोग अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘हरेक वर्ष १० देखि १५ भाषाको शब्दकोश निर्माण गर्ने योजना छ ।’

जेरुङ, चाम्लिङ, साम्पाङ, बेलहारे, लेप्चा, आठपहरिया, कुसुन्डा र स्युवाको शब्दकोश बनाइएको छ । लिङखिम, बज्जिका, छन्त्याल, सन्थाल, भोटे, शेर्पामा काम भइरहेको अधिकृत मनोज पौड्यालले बताए ।

गतवर्ष हायू, सुरेल, साम्पाङ, बेलहारे, जेरुङ, बोटे, दराई, राउटे, दुरा, कुमाल, ल्होमी, कुसुन्डा, किसान, राजी, व्यासी, राजवंशी, तिलुङ, उराव, सोनाहा, दनुवार, जुम्ली, मेचे, मगहीका शब्द संकलन गरिएको थियो । आयोगले यो वर्ष थप ६ भाषाको शब्द संकलन गरेको छ । हायू, सुरेल, साम्पाङ, बेलहारे, व्यासी, राजवंशी, तिलुङ, उराव (कुडुख) , सोनाहा, दनुवार, जुम्ली, मेचे, भोजपुरी, स्युवा, मगही, याक्खा, छन्त्याल, थकालीको वर्णनिर्धारण, शब्द संकलन, भाषिक इतिहास लेखन जस्ता कार्य सम्पन्न भइसकेको छ ।

‘नगरी नहुने काम हो तर कसरी गर्ने भन्नेमा हामी अलमलमा थियौं’, अध्यक्ष अवस्थीले भने, ‘भाषाशास्त्रीले नयाँ उपाय सुझाए । त्यही अनुरूप काम अघि बढायौं ।’ भाषा संरक्षण, विद्यालयमा पठनपाठन र शोध–अनुसन्धानमा सघाउन काम अघि बढाइएको उनको भनाइ छ ।
अन्नपूर्णबाट

Skip This
Logo