अफगान खेलाडीले लिए चार बलमा चार विकेट

अफगान खेलाडीले लिए चार बलमा चार विकेट


काठमाडौं । अफगानिस्तान क्रिकेट खेलाडी रसिद खानले ४ बलमा चार विकेट नै लिएर विश्व कीर्तिमानी कायम राखेका छन् । आयरल्याण्डविरुद्धको सिरिजमा अफगानिस्थान खेलाडी रसिदले ४ बलमा चार विकेट लिएका हुन् । आयरल्याण्डविरुद्धको सिरिजमा अफगानिस्तानले विभिन्न चमत्कार गरेको थियो । त्यो मध्येको रसिदको कीर्तिमान सबैभन्दा अचम्मको हो ।

अफगानिस्तानले तेस्रो टी–२० मा ३२ रनको जित हात पार्दै सिरिज ३–० ले क्लीन स्वीप गरेको छ । पहिले ब्याटिङ गरेको उसले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।

अघिल्लो खेलमा १६२ रनको नटआउट पारी खेलेका हजरतुल्ला जजाई ३१ रनमा आउट भए । तर, मोहम्मद नाबीले अफगानिस्तानको पारी सम्हाले । ३६ बलको सामना गरेका उनले ६ चौका र ७ छक्काको मदतमा ८१ रन बनाए ।

जवाफमा मैदान उत्रिएको आयरल्याण्डको पारी ओब्रायन एक्लैले धानेका थिए । उनले दोस्रो विकेटका लागि एन्डी बालबेर्नीसँग ९६ रनको साझेदारी गरे । बालबेर्नी ४७ रनमा आउट भए । ओब्रायन भने क्रिजमा टिकिरहे ।

५ ओभर बाँकी थियो र आरयरल्याण्डलाई ६९ रन चाहिएको थियो । तर, १६ औं ओभरको अन्तिम बलमा केभिन ओब्रायनलाई पभेलियनको बाटो देखाएका रसिदले १८ औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिएका हुन् । टि–२० अन्तर्राष्ट्रियमा लगातार चार बलमा विकेट लिने उनी विश्वमै पहिलो बलर बनेका छन् ।

Logo