बीमाको पहुँच ग्रामीणस्तरसम्म पु¥याउनुपर्छ : उपप्रम पोखरेल

बीमाको पहुँच ग्रामीणस्तरसम्म पु¥याउनुपर्छ : उपप्रम पोखरेल


काठमाडौं

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून भएको भन्दै द्रूतगतिमा पहुँच विस्तार गर्न राष्ट्रिय बीमा संस्थानलाई आग्रह गर्नुभएको छ ।

पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकूल सेवाप्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

“नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको छ, समयानुकूल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिस्पर्धामा उत्रनु पर्ने आवश्यकता देखिन्छ ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

अर्थ मन्त्रालयका राजस्व सचिव लालशङ्कर घिमिरेले आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धी कार्य प्रणालीको अवलम्बन गर्दै जीवन बीमा व्यवसायमा आम समुदायलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्न सुझाव दिनुभयो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले संस्थान आफू प्रतिस्पर्धी बन्नुका साथै कर्मचारीको उचित व्यवस्थापन, उनीहरुको दक्षतावृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकको सबै नेपालीको बैंक खाता भन्ने अभियान जस्तै सबै नेपालीको बीमा अनिवार्य गर्नुपर्छ भन्नुभयो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले बीमा बजारमा निजी र विदेशी कम्पनीको आकर्षण रहे तापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको दाबी गर्नुभयो । संस्थानको अधिकृत पूँजी ५० करोड र चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रहेको छ । हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करीब दुई लाख ९८ हजार बीमित रहेका छन् भने यस वर्षबाट करीब तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा थप गरिएको छ । त्यसैगरी अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीको बीमासमेत संस्थानले गर्दै आएको छ ।
रासस

Logo