जनतालाई पानी खोज्‍न जनप्रतिनिधि गाग्रो बोकेर जंगल–जंगल !

जनतालाई पानी खोज्‍न जनप्रतिनिधि गाग्रो बोकेर जंगल–जंगल !


खाँदबारी

संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ ।

‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भनेर हिँडे पनि भरपर्दो मुहान फेला पार्न सकेका छैनौं । साना मूल मात्र भेट्यौं ।’ उनका अनुसार वडानम्बर ९ स्थित भालुखोप जंगल सिरानमा एउटा मुहान फेला परेको छ । तर त्यसले पानी पुग्न सक्ने सम्भावना नरहेको मेयरले सुनाए ।

मुहान भेटिए उनी गाग्रोमा पानी थाप्न थाल्छन् । कति समयमा भरिन्छ भनेर हिसाब निकाल्छन् । उक्त मुहानबाट पानी ल्याउँदा कति परिवारलाई पुर्‍याउन सकिन्छ भनेर अनुमान लगाउँछन् । यसरी नाप्दा एउटा मुहानबाट प्रतिसेकेन्ड ५ लिटर पानी आउने पत्ता लागेको छ ।

पाँचखपनका लिङलिङ, खप्टुवा, खमारे, खानीगाउँ, अर्चले, डाँडागाउँ लगायत ठाउँका बासिन्दाले पाँच वर्ष यता पानी समस्या झेल्दै आएका छन् । वडा नम्बर ४, ५, ६, ७ र ८ मा खानेपानीको चरम अभाव छ । नजिकमा मुहान छैन, भएका पनि सुके । पानी अभावमा धेरै परिवार बसाइँ गएका छन् । ३ हजारभन्दा बढी परिवारले खानेपानी अभाव झेलिरहेका छन् ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक भीम बम्जन तामाङका अनुसार हिउँद लागेपछि पानीको चिन्ता हुन्छ । ‘खानेपानी अभाव भएपछि जनप्रतिनिधिसहित हामीले धेरै ठाउँमा मुहान खोजी गर्यौं’, उनले भने, ‘सबैलाई पुग्ने मुहान फेला परेको छैन ।’ उनका अनुसार भालुखोप सिरानको मुहानमा अरू मिसाएर गाउँमा पानी ल्याउन सकिन्छ ।

मेयर राईका अनुसार मुहान खोजी र योजना सञ्चालन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । तर यो बजेट पूर्वाधार तयार गर्नमै खर्च हुने देखिएको छ । थप रकमका लागि प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको उनले सुनाए । विभिन्न मुहानलाई एकत्रित गरी पानी ल्याउन १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान प्राविधिकले गरेका छन् ।
अन्नपूर्णबाट

Logo