नेपालगन्जमा फेब्रुअरी महिनामा शुक्रबार सात वर्षकै चर्को गर्मी

नेपालगन्जमा फेब्रुअरी महिनामा शुक्रबार सात वर्षकै चर्को गर्मी


नेपालगन्ज

नेपालगन्जमा विगत सात वर्षको अवधिमा शुक्रबार सर्वाधिक तापक्रम मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी कार्यालयका अनुसार फेब्रुअरी २२ मा सन् २०१३ मा सर्वाधिक तापक्रम २९ दशमलव चार मापन गरिएको थियो । शुक्रबारको अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री पुगेको छ ।

न्यूनतम् तापक्रम भने १६ दशमलव तीन रहेको छ । शुक्रबार बिहान छिटपुट वर्षा भएको थियो । कार्यालयको रेकर्डमा शून्य दशमलव एक मिलिमिटर वर्षा भएको छ ।

हावापानी कार्यालयका प्रमुख अखिलेशप्रसाद चौरसिया भन्छन्, ‘सात वर्षको अवधिमा आजको मितिमा कहिल्यै पनि अधिकतम् तापक्रम ३० डिग्री नाघेको छैन । औसत २८ देखि २९ को हाराहारीमा देखिन्छ ।’

हावापानी कार्यालयका अनुसार राँझा र नेपालगन्ज सहरको तापक्रममा शून्य दशमलव दुईदेखि तीन डिग्री सेल्सिेयसको अन्तर हुन्छ । जल तथा मौसम विज्ञान विभागले मापन गरेको तापक्रम भन्दा नेपालगन्जमा बढी तापक्रम हुन्छ ।

शुक्रबार नेपालगन्जमा देशमै सबैभन्दा बढी गर्मी भयो। धनगढीमा पनि अधिकतम् तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस तापक्रम छ । तर त्यहाँ न्यूनतम् तापक्रम भने १४ दशमलव चार रहेको छ। न्यूनतम् तापक्रम धनगढीभन्दा नेपालगन्जमा झन्डै दुई डिग्रीले बढी छ ।
अन्नपूर्णबाट

Logo