अब शिक्षकको सेवा सुविधा निजामतीको भन्दा आकर्षक बनाईने

अब शिक्षकको सेवा सुविधा निजामतीको भन्दा आकर्षक बनाईने


काठमाडौं । अब शिक्षकहरुको सेवा सुविधा निजामती कर्मचारीको भन्दा आकर्षक हुने भएको छ । यस विषयमा बिहीबार शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच एक सहमति भएको छ ।

सहमतिपछि शिक्षकलाई निजामती कर्मचारीको भन्दा आकर्षक सेवा सुविधा दिने प्रवन्ध गरिनेछ । त्यसको लागि शिक्षा मन्त्रालयले निर्माणको प्रकृयामा रहेको संघीय ऐनमा उक्त ब्यवस्था गरिनेछ । उक्त कुरा शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासंघसँग लिखित सहमति गरेको छ ।

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच मंसिर १८ गतेदेखि वार्ता सुरु भएको थियो । झण्डै ३ महिनासम्म चलेको वार्तापछि शिक्षा मन्त्रालय शिक्षकको हक हितमा अघि बढ्न तयार भएको हो । ३ खण्डमा गरी अहिलेसम्म ३० वटा बुँदामा लिखित सहमति गरिएको नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

पहिलो मंसिर २४ गते सात बुँदे सहमति गरिएको थियो । उक्त सहमति गोप्य राखिएको थियो । त्यस्तै पुस १७ गते ३ बुँदे सहमति गरिएको थियो । सहमतिका बुँदा गोप्य राख्ने आचार संहित अनुसार त्यसलाई पनि सार्वजनिक गरिएको थिएन् । आज भएको तेस्रो चरणमा भने २० बुँदे सहमति भएको हो । उक्त सहमति सार्वजनिक गरिएको हो ।

सहमति पत्रको छैठौं बुँदामा विद्यालय शिक्षकको सेवा शर्त र सुविधाको मापदण्ड संघीय सरकारले तोक्ने र त्यसको सुविधा समान तहको निजामती सेवाको कर्मचारी भन्दा आकर्षक बनाईने उल्लेख गरिएको छ ।

शिक्षा सचिव खगराज बरालसहित मन्त्रालयका सहसचिवहरु र महासंघका अध्यक्ष बाबुराम थापा सहित शिक्षक नेताहरुले हस्ताक्षर गरेको उक्त सहमतिमा शिक्षकका विभिन्न सेवा सुविधा उल्लेख गरिएको छ ।

Logo