आफूखुसी खरिदले राज्यलाई करोडौं घाटा, ठेकेदार मालामाल

आफूखुसी खरिदले राज्यलाई करोडौं घाटा, ठेकेदार मालामाल


काठमाडौँ
केन्द्रदेखि जिल्लास्तरमा रहेका सरकारी कार्यालयले जिन्सी तथा अन्य सामान खरिदमा एक वर्षमा आफूखुसी एक अर्ब बढी रुपैयाँ खर्च गरेको पाइएको छ ।

कतिपय कार्यालयले कमिसनको लोभमा अनावश्यक सामान समेत खरिद गरी राज्यकोषमा करोडौंको व्ययभार थपिदिएको देखिएको छ । सामान खरिदमा अनियमितता गर्ने गरेका सरकारी कार्यालयले विकास निर्माणमा ठेक्का लगाउँदा समेत ठेक्कापिच्छे फरक–फरक मापदण्ड बनाई ठेकेदारलाई नै फाइदा पु¥याउने काम गर्ने गरेको समेत पाइएको छ ।

सरकारी कार्यालयले आफूखुसी अनियन्त्रित रूपमा जिन्सी सामान खरिद गर्ने क्रम बढेकाले त्यसलाई व्यवस्थित गर्न प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले सरकारलाई सुझाव दिएको छ । केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुझाव दिँदै विभिन्न कार्यालयमा एउटै वस्तुको मूल्य फरक–फरक पेस गरी खरिद हुँदा भ्रष्टाचार र अनियमिततामा प्रोत्साहन हुन पुगेकाले त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न गम्भीर ध्यानाकृष्ट गराएको छ ।

केन्द्रले सरकारी कार्यालयमा दैनिक प्रयोग हुने जिन्सी सामाग्रीको केन्द्रीय स्तरबाटै खरिद दररेट निर्धारण गरी सो दररेटभित्र वस्तु खरिद गर्ने व्यवस्था मिलाउनसमेत सरकारलाई सुझाएको छ ।

सतर्कता केन्द्रका अनुसार सरकारी निकायले सामान खरिदमा निश्चित दर निर्धारण नगर्दा एकै सामानमा पनि ठूलो मूल्यको अन्तरमा खरिद हुने क्रम बढ्दै गएको हो । महालेखापरीक्षकको कार्यालयले पनि सरकारी कार्यालयको सामान खरिद शीर्षकमा करोडौं रुपैयाँ बेरुजु आउने गरेको बताउँदै आएको छ । सतर्कता केन्द्रले सरकारी कार्यालयमा एउटै वस्तु खरिदमा तीन गुणादेखि ६ गुणासम्म फरक देखिएको जनाएको छ । केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले सबै सरकारी कार्यालयमा सामान खरिदमा एकरूपता कायम नगर्ने हो भने खरिदका नाममा लाखौं रुपैयाँ खर्च गर्ने विकृति बढिरहने बताए ।

सतर्कता केन्द्रका अनुसार अहिले पनि अधिकांश सरकारी कार्यालयले ५ देखि १० लाखसम्मको सामान खरिद गर्दा आफैंले सिलबन्दी दरभाउ पत्र लिने र महँगोमा सामान खरिद गर्ने गरेका छन् । ६० रुपैयाँ पर्ने कलमलाई १ सय रुपैयाँसम्ममा खरिद गर्ने गरिएको छ भने १० रुपैयाँ पर्ने फाइललाई ३० रुपैयाँसम्ममा खरिद गर्ने गरिएको छ । त्यसैगरी, कापी, कागज तथा अन्य फर्निचर सामान खरिद गर्दासमेत वास्तविक मूल्यभन्दा अत्याधिक मूल्यमा किन्ने गरेको सतर्कता केन्द्रको अध्ययनले देखाएको छ ।
राजधानीबाट

Logo