Hot Newsब्लगविचार

६५ बर्ष पहिले काठमाडौँ जाँदा

कमिज सुरुवाल र टोपी उहाँको सदाबहार पहिरण । सेतै फुलेको दाँही जुंगा र कपाल । घाँटीमा साचोको झुप्पा । उनको ज्यान र आँखा उस्तै छ अर्थात सानो आँखा सानो जिउडाल, चहकिलो आँखा अनि उस्तै मुहार । जिउज्यानले बुढ्यौली देखिए पनि उनको आँत र जोश जाँगर हेर्दा बुढ्यौलीले छोएको जस्तो देखिँदैन ।

आजभन्दा ८५ बर्ष अगाडि मकवानपुरको थाहा नगरपालिका ६ लिलाखेलमा जन्मिनुभएका उहाँ हुन् शन्तबहादुर बलामी । उहाँको खास नाम शन्तबहादुर भए पनि गाउँमा उहाँलाई ‘हाकु’ भनेर चिनिन्छन् । हाकु अर्थात नेपाली भाषामा कालो । उहाँको छाला कालो होला तर न उहाँको मुहार सधै चहकिलो ब्यवहार सधै रमाईलो । संभवत उहाँ यो गाउँकै सबैभन्दा ज्येष्ठ नागरिक हुन् ।

साढे आठ दशक हिँउद बर्षा पार गरिसक्दा पनि उहाँको जोश जाँगर अझै मरेको छैन । आवश्यक पर्दा अझै पनि सानोतिनो गोडमेल र घाँसपात गर्न तम्सिन्छन् । जीवनमा अनेकौ हण्डर ठक्कर खाएर पनि उहाँको मुहारमा त्यो कष्ठ कहिल्यै देखिदैन । जतिबेला भेट्दा पनि हाँसेर बोल्ने र जिस्किने उहाँको सानैदेखिको बानी । उहाँ करिव ६५ बर्षअघि काठमाडौ पुगेका थिए । त्यसपछि भने उहाँ कहिलेकाही मात्रै काठमाडौं पुगेका छन् । तर पछिल्लो समय उहाँ काठमाडौ नगएको धेरै भएको बताउनु हुन्छ । हामीले उनै ज्येष्ठ नागरिक हाकु बलामीले ६५ बर्ष पहिले देखेको÷भोगेको काठमाडौलाई उहाँकै शब्दमा उतार्ने कोसिस गरेका छौ ।

काठमाडौको यात्रा र बसाई

घरबाट नजिक भएकाले पनि कमाउनका लागि काठमाडौ जान्थ्यौ । म त्यस्तै १५÷२० बर्ष जति हुँदा पहिलो पटक काठमाडौ गएको हुँ । हामी चन्द्रागिरीको बाटो भएर जान्थ्यौ । घरबाटै महिनौ दिनलाई पुग्ने गरी मकै, रोटी, चामल, चिउरा पिठो लगायत लिएर जान्थ्यौ । मिल्ने साथीहरुसँग एक डोको सामान लिएर काठमाडौं लाग्थ्यौ । चन्द्रागिरी पुगेपछि फेरि एकभारी दाउरा खोजेर लानु पथ्र्याे ।

काठमाडौमा हामी जे पायो त्यही काम गथ्र्याै । इटा, बालुवा, ढुंगा बोक्नेदेखि खेतबारी खन्ने, घर बनाउने सबै काम गथ्र्याै । हामी प्राय कालीमाटीतिर बस्थ्यौ । त्यतिबेला सम्म बिजुली बत्ती थिएन । त्यसबेला बत्ती भनेकै सिंह दरवार वरिपरि मात्रै थियो । हामी दियालो बाल्थ्यौ । पछि भने मट्टितेल बाल्न थाल्यौ । त्यतिबेला कालीमाटीमा एकदमै थोरै मात्र घरहरु थिए ढुंगा र माटोको । सिमेन्ट बालुवाको घर त मैले काठमाडौमा कतै पनि देखिन । जता हेर्याे त्यतै खेतहरु मात्रै देखिन्थ्यो । अहिले गाउँघरतिर जस्तै त्यतिबेला काठमाडौमा धान फल्थ्यो । अहिले त जताततै रोड नै रोड लगिसकेछ ।

अहिले कलंकी भन्ने ठाउँमा त्यतिबेला जंगल थियो । दुई चार वटा घर थिए । साझ पर्ने बित्तिकै स्याल कराउथ्यो । धेरैजसो चोरी डकैटी हुने ठाउँ हो त्यो ।

घरभरी गाईभैसीको गोबर

त्यतिबेला प्राय सबैले गाई भौसी पाल्थे । गाईभैसीको गोबर घर गोठको भित्ताभरी लेपेर राखिन्थ्यो । त्यो सुकेपछि निकालेर बालिन्थ्यो । काठमाडौंमा त्यतिबेला गाडी नै चल्दैनथ्यो । फाट्टफुट्ट एक दुई वटा गाडी चल्थे । नर्कटको झाङ र रुखको जंगल हुन्थ्यो । गर्जुधारातिर गोरु जोतिन्थ्यो तर सहरतिर भने गोरु जोतिदैनथ्यो । खेतबारी खन्नु पथ्र्याे ।

संघर्ष

हामी साहुहरुको छाप्रोमा बस्थ्यौ । भाडा तिर्नु पर्दैनथ्यो । हामी ओस्नाली भन्ने चामलको भात खान्थ्यौ । गाउँबाट लगेको मकै, रोटी, गँहु खान्थ्यौ । सबैभन्दा कान्छोले भाँडा माभ्mने चलन थियो । काउली, मुला, बन्दा, सिमी जस्ता तरकारीहरु खान्थ्यौ । त्यतिबेला २ रुपैंया किलोमा मासु पाइन्थ्यो । सुन त्यतिबेला एक तोलाको २ सयदेखि ३ सय रुपैंयासम्ममा पाइन्थ्यो ।

ज्याला साहुहरुले हेरेर दिन्थे । तीन पैसादेखि एक रुपैंयासम्म ज्याला पाइन्थ्यो । कतै गाडीले ढुंगा बालुवा झारेको देख्नासाथ कुदेर जान्थ्यौ । एक हजार वटा इँटा बोकेवापत दुई पैसा ज्याला पाइन्थ्यो । त्यतिबेला मैले सोल्टी होटलको जग खनेको थिँए ।

हामी एक पटक काठमाडौं जाँदा १५ दिनदेखि एक महिनासम्म बसेर आउँथ्यौ । यस अवधिमा बढीमा ५ रुपैंयासम्म कमाइन्थ्यो । अहिले जस्तो रमाईलो गर्ने भन्ने केही हुदैन । जसरी हुन्छ काम खोज्ने, जे पायो त्यही काम गर्ने र पैसा कमाउने भन्ने हुन्थ्यो । काम खोज्दै हामी धेरै टाढा टाढासम्म पुग्थ्यौ । अहिलेजस्तो ठेकेदार भन्ने थिएन । अहिले जस्तो सजिलै काम पाइदैनथ्यो ।

त्यतिबेला बालुवा किन्नै पर्दैनथ्यो । खोलाबाट हामी आफै बालुवा उठाएर साहुको घरमा लग्थ्यौ ।

थर फेरेर काम

त्यसबेला जातपातको धेरै महत्व हुन्थ्यो । काम दिनुअघि, बास दिनुअघि थर सोधिन्थ्यो । हामीले त थर फेर्नु परेन तर सँगै काम गर्ने अलि तल्लो जातका साथीहरुले थर नफेरी बास समेत पाउदैनथ्यो । त्यसैले उनीहरुले श्रेष्ठ, जोशी भनेर थर फेर्थे । हामीले पनि उनीहरुको थर त्यही नै हो भनेर भनि दिनु पथ्र्याे । नत्र उनीहरुले काम पनि पाउदैनथ्यो, बस्ने बास पनि पाउदैनथ्यो ।

हिँडेर खबर

गाउँमा कसैको घरमा कोही बिरामी प¥यो अथवा केही नराम्रो भयो भने मान्छे नै खबर लिएर जानु प¥थ्यो । कोही मान्छे बित्यो भने दुई तीनदिन पछि मात्रै थाहा हुन्थ्यो ।

बाइरोडमा बाटो बनाउदा

बाइरोडको बाटो (त्रिभुवन राजपथ) बनाउदा धेरै काम गरियो । काम गरेको ज्याला एक रुपैंया थियो । काम गर्न जानेमध्ये म सानो थिए । काम दिने हाकिमले ‘ए छोटा आड्मी काम नै चल्ता हे’ भन्थे । अनि त्यहाँ सुपरभाइजरहरुले चै ‘छोटा आड्मी बहुत काम कर्ता हे भन्थे’ । बाइरोडको बाटो नआएसम्म धेरै दुःख थियो । त्यसपछि भने गाडी चढ्न पाइयो ।

पहिले र अहिले

अहिले त पहिलेको कुरा गरेर साध्य छैन । पहिलेको कुरा सम्झिँदा त सपना जस्तो लाग्छ । यति छोटो समयमा कतिधेरै परिवर्तन भएको अचम्म लाग्छ । पहिले त काठमाडौ अहिलेजस्तो होला भनेर सोच्नै सकिदैनथ्यो । भोलिपर्सी यो गाउँघर पनि त्यस्तै हुन्छ होला । अहिलेका केटाकेटीहरु एउटा काम गर्नु प¥यो भने पसिना निकाल्छन् । त्यतिबेला जस्तो दुःख गर्नु प¥र्याे भने के गर्छ होला ।

अहिले मान्छेहरु अल्छी पनि भएको छ, त्यति बलियो पनि छैन । अहिलेको खानेकुरा नै त्यो बेलाको जस्तो राम्रो छैन । अहिलेकाहरु मिठो खोज्छ । त्यही मिठो मिठो खाएर नै ज्यान बलियो नभएको जस्तो लाग्छ । अहिले त बिष नहालेको अन्न नै हुँदैन । अनि बिष हालेको अन्न खाएपछि हाम्रो शरिर पनि बिष नै बिषले भरिएको जस्तो लाग्छ ।

SKIP THIS