ठूला सुस्त, साना सक्रिय : दलहरुका राजनीतिक एजेन्डाको कार्यान्वयन

ठूला सुस्त, साना सक्रिय : दलहरुका राजनीतिक एजेन्डाको कार्यान्वयन


काठमाडौँ

ठूला दल राजनीतिक एजेन्डामा सुस्त देखिए पनि साना दल सक्रिय भएका छन् । सत्तारुढ दल नेकपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक झमेलामा फसेका बेला साना दल राष्ट्रव्यापी अभियान लिएर गाउँ पसेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट र ३ प्रतिशत मत ल्याउने दललाई राष्ट्रिय मान्यताप्राप्त दल मानिन्छ । गत चुनावका आधारमा ४ दल (नेकपा, कांग्रेस, संघीय फोरम र राजपा) ले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् ।

चुनावी मोर्चामा कमजोर बनेपछि साना दल निरन्तर राष्ट्रिय अभियानमा जोडिन थालेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नयाँ शक्ति, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत साना दल पार्टी अभियान बोकेर गाउँ छिरेका छन् । मंगलबारबाट राप्रपा र क्रान्तिकारी माओवादी गाउँ पसे ।

सत्तारुढ नेकपाले पार्टी एकताको सन्देशसहित राष्ट्रिय अभियान लिएर गाउँ पुग्ने योजना बनाएको थियो । तर, पार्टी एकता भएको ९ महिना बित्दासमेत एकता नै टुंगिएको छैन । उसले सञ्चालन गर्ने भनेको राष्ट्रिय अभियान अलपत्र परेको छ ।

राष्ट्रिय मान्यता प्राप्त राजपा लगायत साना दल भने अभियानमा सक्रिय छन् । राष्ट्रिय जनता पार्टीले फागुन १० देखि १३ सम्म जनकपुरमा प्रदेश २ का प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला अध्यक्षमण्डलको बैठक बोलाएको छ ।

लगत्तै उसले फागुन १४ गते विराटनगर, १६ गते भैरहवा, १७ गते नेपालगन्जमा जिल्ला अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य र विधायकहरूको बैठक बोलाएको छ । २२ देखि २५ सम्म मधेसी, आदिवासी जनजाति बुद्धिजीवीसँगको अन्तक्रिया आयोजना गर्न लागिएको संयोजक महेन्द्रराय यादवले बताए ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले पनि पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ७ सय ७६ किमिको मध्यपहाडी लोकमार्गमा असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा अभियान सञ्चालन गरेको छ ।
अन्नपूर्णबाट

Logo