संसदमा पुग्यो पशुपति शर्माको ‘लुट्न सके लुट’, चल्यो दोहोरी

संसदमा पुग्यो पशुपति शर्माको ‘लुट्न सके लुट’, चल्यो दोहोरी


काठमाडौं । पशुपति शर्माको लुट्न सके लुट गीतले संसदमा पनि स्थान पाएको छ । आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै युट्युवबाट हटाईएको गीतबारे संसदमा प्रश्न उठेको छ । नेपाली कांग्रेसका सांसदहरुले यसविषयमा प्रश्न उठाएका हुन् ।

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाए । उनले सरकार एउटा रचना तथा संगीतबाट अत्तालिएको प्रतिक्रिया दिए । उनले सांसदका रुपमा आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ शर्मालाई दिने घोषणा समेत गरे ।

प्रनितिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले लोक गायक पशुपति शर्माको गीत धम्की र दबाबमा प्रतिबन्धित गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘गीतमा जनताका भावना थिए । यसरी जनताका भावना सुन्न नसक्ने हो भने सरकारलाई जनताले नै ठीक पार्छन् ।’

सत्तापक्षका सांसदको प्रतिवादः
कांग्रेसका सांसद सिंहले पशुपति शर्मालाई २५ हजार दिने घोषणा गरेपछि सत्तारुढ दल नेकपा सांसदले उल्टै सिंहलाई नै एक महिनाको तलब दिने बताएका छन् । नेकपाका सांसद झपडबहादुर रावलले सांसद सिंहले पशुपति शर्माको गीत गाएमा आफूले फागुन महिनाको पूरै तलब सिंहलाई नै दिने बताएका हुन् ।

उनले भने, ‘पहिले–मलाई अमेरिका यहि, जापान पनि यहि भन्ने गीत गाएका पशुपति शर्माले अहिले लुट्न कान्छा लुट भन्ने गीत गाए छन् । उनको गीतमा राष्ट्रपतिको प्रशंग तथा कुकुर र यमराज जस्ता आपत्तिजनक शब्द छन् । यो गीत गाउने शर्मालाई आफ्नो तलबबाट २५ हजार दिने घोषणा गरेका माननीयले आफै गाएमा मैले फागुन महिनाको पूरै तलब उहाँलाई दिन्छु ।’

पशुपतिनाथले त जोगाउन नसकेको कांग्रेसलाई यस्तो लुट कान्छा गीत गाउने पशुपति शर्माले जोगाउन नसक्ने उनको भनाई छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शर्माको गीतमाथि प्रधानमन्त्रीको निर्देशनमा प्रतिबन्ध लगाएको भन्ने गलत भएको बताए ।

Logo