युट्युबबाट गीत हटेपछि झन चर्चामा पशुपति

युट्युबबाट गीत हटेपछि झन चर्चामा पशुपति


काठमाडौं । ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाईदैंन नेपालमै हो छुट’ भन्दैं चर्चामा छन् गायक पशुपति शर्मा । वर्तमान राजनीति तथा संस्कारमाथि व्यंग प्रहार गर्दै उक्त गीत बनाएका पशुपतिमाथि चर्को दबाब आयो । जसले गर्दा उनी आफ्नो गीत हटाउन बाध्य भए । युट्युबमा अपलोड भएको दुई दिनमै उनले आफ्नो गीतलाई घुमाउरो पारामा हटाए ।

उक्त गीतमा समावेश केही शब्दहरुले नकारात्मक सन्देश गएको भन्दै दबाब आएपछि उनी हटाउन बाध्य भए । तर यो विषयमा उनले दबाब आएको नभई सुझावको आधारमा हटाईएको प्रतिक्रिया दिएका छन् ।गीतको विरोध गर्नेमा सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरु थिए । उनीहरुले अहिले सबैकुरा सकारात्मक भईरहेको बेला पशुपतिले देशकै बेईज्जत गर्ने खालको गीत गाएको भन्दै विरोध गरेका थिए ।

शुक्रबार युट्युबबाट रिलिज भएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत हटाउनुभन्दा अघिसम्म ट्रेण्डिङ नम्बर ९ मा पुगेको थियो । उनले सामाजिक सञ्जालमार्फत उक्त गीत परिमार्जन गर्दै पुनः अपलोड गर्ने बाँचासहित हटाएका थिए ।

युट्युबमा गीत अपलोड हुँदा सम्म सामान्य चर्चामा रहेका पशुपति गीत हटाईएपछि चर्चाको शिखरमा पुगेका छन् । यतिबेला पक्ष र विपक्षको भूमरीमा फसेका छन् । एकातिरकाले गीत असान्दर्भिक भएको तर्क गरिरहेका छन्, अर्को थरीकाले गीत हटाएर राज्यले अधिनायकवाद लगाउन खोजेको आरोप लगाएका छन् ।

विशेषगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, कलाकारहरुले पशुपतिको पक्षमा वकालत गर्दै आएका छन् । उनीहरुले सरकारलाई चर्को गाली दिईएरहेका छन् । उनीहरुले दुई तिहाईको सरकार एउटा जाबो गीतबाट डराए भन्ने आरोप लगाएका छन् । तर सत्तारुढ दल नेकपा नेता कार्यकर्ताहरुले भने गीतमाथि गम्भीर प्रश्न उठाईरहेका छन् । उनीहरुले गीतमा प्रयोग भएका विभिन्न शब्दप्रति आपत्ति जनाईरहेका छन् ।

देश लुट्न सल्लाह दिने गीतकार देशका लुटेराहरुभन्दा पनि निच भएको भन्दै उनीहरुले यस्तो प्रकारको गीतले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको बदनाम हुने तर्क गरिरहेका छन् । सबैले हावाको भरमा उक्त गीतमाथि सरकारले प्रतिबन्ध लगाएको दाबी गर्दै आएका छन् । तर गीत हटाउँदा पशुपतिले लेखेको स्टाटसमा कहि पनि दबाब आएको कुरा उल्लेख गरेका छैनन् ।

उनले ते केबल गीतमा समावेश गरिएका केही शब्दप्रति असन्तुष्टि देखिएको भन्दै परिमार्जन गर्नको लागी हटाईएको बताएका छन् । उक्त शब्दहरु हटाएर पुनः गीत ल्याउनेले प्रतिबद्धता जनाएका छन् । तर अधिकांशले सरकारले प्रतिबन्ध लगाएको भन्दै आएका छन् ।

किन गीत हटाउन बाध्य भए पशुपति ?

पशुपतिको गीतमा प्रयोग गरेका केही शब्दहरुमा नेकपा कार्यकर्ताले आपत्ति जनाए । उनीहरुले राष्ट्रपतिले डेढ अर्बको हेलिकप्टर चढेको कुरा, भिजुअलमा नेकपा कार्यकर्ताको झण्डा देखाइएको र कार्यकर्तालाई कुकुरजस्तै भुक्छन् भनेको कुरामा आपत्ति जनाए ।

त्यस्तै वाइडबडीमा भ्रष्टाचार काण्डप्रति पनि उनीहरुको आपत्ति छ । गीतमा प्रयोग गरिएको ‘यमराजको शासन’ मा पनि आपत्ति छ । सरकारी कर्मचारीले दुई वर्षमा घर बनाएको, सरकारी शिक्षकले छोराछोरी बोर्डिङमा पढाएको र सरकारी डाक्टरले बिरामीलाई निजी क्लिनिकमा पठाउने भन्ने शब्द गीतमा समावेश गरिएको छ । उक्त यर्थात कुराहरु नेकपा नेता कार्यकर्तालाई पचेन ।

उक्त गीतमा सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघले वक्तव्य नै निकालेर आपत्ति जनायो । तर नेकपा सरकार वा उसको दलले औपचारिक धारणा सार्वजनिक गरेको छैन् ।

यस्तो छ गीतः

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट……..

हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो

स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो

बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ

त्यसकै छोरो पढ्न फेरि बोडिंगतिर जान्छ

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट

******************************

डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ

बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ

हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो

दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ?

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

****************************

गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा

त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज

जनताको मुटुभित्र काँडा कति कति

डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

००००

वाइडबडी जहाँज किने अरे लुट्नुसम्म लुटे

सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे ?

ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन्

कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन्

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

*******************************

हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन्

हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ?

गर्ने काम केही हैन, ठूला ठूला भाषण

स्वर्गजस्तो देशमा हजुर यमराजको शासन

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

***************************

सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन

ट्राफिक पुलिस सीटी फुक्छ, कोहीले सुन्ने हैन

त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च

हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ ?

लट्न सके लुट कान्छा, लुट्न सके लुट

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

***************************

ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा

झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा

यता गयो लुटेकै छन् लुट्छन् उता गयो

सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो

लट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाईँदैन नेपालमै हो छुट…

*********************

ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन्

तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् ।

अब गर्न छोड्दे कान्छा आदर्शको खेती

केही न केही त बुझिस होला भनेपछि यति

लट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाईँदैन नेपालमै हो छुट…

थप समाचारः

पशुपति शर्माको व्यंगात्मक गीत, ‘लुट्न सके लुट नेपालमै हो छुट’

पशुपति शर्माको गीत फिर्ता गरायो सरकारले, युट्युबबाट हटाईयो

गित हटाउनु पर्ने कारणबारे गायक पशुपति शर्माले यसो भने

Logo