आर्थिक समृद्धिका लागि गुणस्तरीय र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ : राष्ट्रपति

आर्थिक समृद्धिका लागि गुणस्तरीय र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ : राष्ट्रपति


सोलुखुम्बु
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा अवलम्बन गर्नुपर्ने बताउनु भएको छ ।

सोलुखुम्बु बहुमुखी क्याम्पसले सञ्चालन गर्ने मेची–काली विश्व अभियानको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुक आर्थिक समृद्धिमा केन्द्रित रहेको परिप्रेक्ष्यमा गुणस्तरीय प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको प्रतिष्ठा र सभ्यतासँग जोडिएका हिमशृङ्खला, हिमनदी, जैविक विविधतालाई कायम राख्नु आजको आवश्यकता भएको बताउनुभयो । जलवायु अनुकूलनको कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरिनुपर्ने उहाँको भनाइ छ ।

सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवका अवसरमा विभिन्न महत्वकाङ्क्षी योजनासहित मेची–काली विश्व अभियान शुरु गरिएको हो । उहाँले देशको महत्वपूर्ण पर्यटकीय गन्तव्यसहित आरोहणका लागि शेर्पा आरोहीले खेलेको भूमिकाको सराहना गर्नुभयो ।

क्याम्पसले पाँच सय जना विद्यार्थीलाई छात्रावाससहितको निःशुल्क प्राविधिक शिक्षा दिनका लागि थालिएको अभियान निक्कै महत्वपूर्ण कदम भएको भन्दै उहाँले सफलताको शुभकामनासमेत दिनुभयो ।

प्रदेश नं १ का सामाजिक सुरक्षामन्त्री जीवन घिमिरेले क्याम्पसले शुरु गरेको कार्यक्रम नमूना भएकाले प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष आङरीता शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया, सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर) प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत, महजोडीका नामले परिचित हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

डेढ करोड सहयोग प्राप्त

क्याम्पसले सञ्चालन गरेको मेची–काली विश्व अभियानमार्फत एक अर्ब सङ्कलन गर्ने र पाँच सय विद्यार्थीलाई निःशुल्क छात्रावाससहितको उच्च प्राविधिक शिक्षा दिने लक्ष्य राखिएको छ । एक करोड नागरिकबाट प्रतिव्यक्ति १०० का दरले एक अर्ब सङ्कलन गर्ने योजना अनुसार शनिबार उद्घाटनको दिन एक करोड ४५ लाख सहयोग प्राप्त भएको क्याम्पसप्रमुख उद्धवकुमार शर्माले जानकारी दिनुभयो ।

क्याम्पसप्रमुख शर्माका अनुसार सोलुदूधकुण्ड नगरपालिकाका तर्फबाट एक करोड आर्थिक सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । यस्तै व्यक्तिगत रुपमा सबैभन्दा बढी समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता प्रकाश सिं कार्कीले १० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । क्याम्पसले सञ्चालन गर्ने कार्यक्रम निक्कै महत्वपूर्ण एवम् उपयोगी भएको भन्दै सहयोग गरेको दाताको भनाइ छ ।

यस्तै दर्जन भन्दा बढीले एक लाख सहयोग गरेका छन् भने १० हजारदेखि माथि सहयोग गर्नेहरु पनि प्रशस्त रहेका छन् ।
रासस

Logo