बाराका सिडिओ र सशस्त्रका एसपीको दुर्घटना रहस्यमय

बाराका सिडिओ र सशस्त्रका एसपीको दुर्घटना रहस्यमय


काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी र सशष्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानविनको माग गरेका हुन् ।

माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक उक्त सवारी दुर्घटना भएको थियो । प्रजिअ भट्टराईका भाई नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रसस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताए ।

‘उक्त घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाईएको देखिन्छ त्यसमाथी एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिव देखी पुर्वसचिवसम्मका, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुले लागेपछि हामी झन आश्चर्य चकित हुन पुगेका छौं,’ भट्टराईले पत्रकार सम्मेलन भने, ‘घटना प्रति गम्भिरता र जिम्मेवारीपुर्ण तरिकाले अनुसन्धान नगर्नु र एउटा चालकको पछि मुलुकका पावरफूल व्यक्तिहरु नै लाग्नुले घटनालाई झन रहस्यमय बनाएको हो ।’

उनका अनुसार घटना घटेको तीन साता पुगिसक्दा पनि सामान्य केरकार बाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन । उक्त घटनामा परी प्रहरी उपरिक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचाररत छन् । प्रजिअ भट्टराई अझै अचेत अवस्थामा छन, उनको अझै होस खुलेको छैन । मृतक पोखरेलका परिवारले बारामा र भट्टराईका परिवारले महानगरिय प्रहरी वृत, महाराजगञ्जमा किटानी जाहेरी दिएका छन् ।

‘चालक राउतले तिव्र गतिमा (प्रति घन्टा सय किमि भन्दा माथी) को गतिमा सवारी चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रुपमा ठोकाएको आशंका छ,’ प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘घटना घटे लगत्तै चालक कुर्मीले प्रहरीलगायत सम्बन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ, जबकी चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए ।’ भाई नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटनापछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिए ।

बारा बरमपुरीका स्थायी बासिन्दा चालक कुर्मी विगत २३ वर्ष देखी निरन्तर बारा प्रजिअको सवारी चालकको रुपमा कार्यरत रहँदै आएका थिए । बाराको बरमपुरी गाउँ देखी कलैया, बिरगञ्जमा मात्रै होइन, उनै चालक कुर्मीले काठमाडौंको अनामनगरमा करोडौंको महलसमेत रहेको छ ।

‘आफुलाई स्थायी सिडियो बताउँदै हिड्ने कुर्मीले बिचौलिया भएर गैरकानुनी काम गर्ने गरेको उनी निकट व्यक्तिहरुले हामीलाई भनिरहेका छन्’ प्रेस बिज्ञप्तिमा भनिएको छ । चालक कुर्मीले पैशा र उच्चपदस्थ ब्यक्तिको आडमा छानबिनलाई प्रभावित बनाउन खोजेको भट्टराई परिवारको आरोप छ ।

‘एउटा सामान्य चालकले यस्तो घटना गर्ला भनेर सामान्य मान्छेले पनि कल्पना गर्न सक्दैन तर जे जे चालक कुर्मीका वारेमा सुनिन थाल्यो, त्यसले त हामी मात्रै छक्क परेनौं, घटना नियोजित रहेको आशंका बढन थालेको छ’ भाई भट्टराईले भने, ‘नत्र हामी सामान्य दुर्घटना भनेर उपचारमा व्यस्त थियौं ।’ उनका अनुसार उक्त घटनालाई प्राकृतिक दुर्घटनाको रुपमा नलिई नियोजित देखिएकाले नेपाल सरकारसँग सत्य तथ्य छानबिनका लागि माग गर्नु परेको हो ।

Logo