अब महिनावारी भए चिन्ता लिनु पर्दैन, आयो प्याड झर्ने मेसिन !

अब महिनावारी भए चिन्ता लिनु पर्दैन, आयो प्याड झर्ने मेसिन !


(कृष्णसिंह धामी)

काठमाडौं । प्रतिक्षा तामाङ स्कुलमा साथीभाईहरु सँगै खेल्दैं थिईन् । खेलिरहेकै बेला उनी महिनावारी भईन् । अब उनलाई पर्‍यो आपत । किनकी उनीसँग प्याड थिएन् । उनी खेल्न छोडेर घर आईन् । त्यो दिन उनको आधा पढाई छुट्यो । दोस्रो दिनदेखि उनी झोलामै प्याड बोकेर स्कूल गईन् । झोलामा एकातिर कापी किताव अर्कोतिर प्याडको प्याकेट । यो समस्या उनको मात्र होईन्, अधिकाशं महिलाको हो ।

त्यस्तै १० कक्षा पढ्ने छात्रा निशा थापाको पनि समस्या उस्तै छ । उनी पनि धेरै पटक विद्यालयमै महिनावारी हुँदा पढाई नै छोडेर घर आउने गरेकी छन् । महिनाका ती चार–पाँच दिन छात्राहरू आफ्नो समस्या अरूलाई भन्ने झन्झट वा सरमले विभिन्न बहानामा घरमै बसिदिन्छन् । यसले पढाइ त छुट्थ्यो नै, नियमित स्कुल आउने बानी पनि हट्दैं जान्छ ।

महिनावारी भएको बेला विद्यालयका छात्राहरुलाई बढी समस्या हुने गर्दछ । ग्रामिण क्षेत्रका छात्राहरु त ४ दिन स्कूल नै जान पाउँदैंनन् । छात्रा मात्र नभएर शिक्षाकाहरु समेत महिनावारी भएका बेला स्कूल जादैंनन् ।

एकातिर ज्ञानको कमीले यो समस्या भईरहेको छ भने अर्कोतिर स्कूलमा महिवारी भईदियो भने प्याड किन्न पनि पाईदैंन् वा उपलब्ध हुदैंन् । तर अब भने यो समस्याबाट मुक्ति पाईने भएको छ । नेपालमै पहिलो पटक प्याड झर्ने मेसिन भित्रिएको छ । स्मार्ट लिविङ्ग टेक्नोज प्रा.लिले नेपालमा पहिलो पटक स्वचालित सेनेटरी प्याड (Automatic Sanitary Pad Vending Machine) झर्ने मेसिन भित्र्याएको हो ।

यो मेसिनबाट महिनावारी भएको बेला प्याड निकालेर प्रयोग गर्न सकिन्छ । नेपालमै पहिलो पटक आधुनिक प्रबिधि मार्फत सेनिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन भित्र्याईएको हो । अब महिनावारी हुँदा हुने समस्या समाधान हुन्छन् ।

छात्राले महिनावारीको समयमा आफ्नो अध्ययन, कामलाई निरन्तर दिन यो मेसिनमा कार्ड हालेर आवश्यकता अनुसार प्याड निकाल्न मिल्छ । यो उच्चतम प्रविधिको स्वचालित मेसिनले स्वच्छ सेनेटरी प्याड, उपलब्ध गराउँछ । यसमा गोपनियता पनि राखिएको हुन्छ ।

कसरी उपलब्ध हुन्छ प्याड ?


यो स्वचालित सेनेटरी प्याड मेसिनभित्र एक पटकमा ५० प्याड राखिन्छ । एटिमबाट पैसा झिके जस्तै गरी यो मेसिनबाट पनि प्याड झिक्न मिल्छ । यसको लागि एउटा स्मार्ट कार्ड बनाईन्छ । जसमा पैसा हाल्नुपर्ने हुन्छ । र आवश्यकता अनुसार मेसिनभित्र कार्ड हालेर प्याड निकाल्न मिल्ने स्मार्ट लिविङ्ग टेक्नोज प्रा.लिका सिईओ मनोज ज्ञवालीले जानकारी दिए ।

यो मेसिन ३ प्रकारको हुन्छ । एउटा पैसा हालेर प्याड निकाल्ने, अर्को कार्डमा आफैं पैसा हाल्न सकिने र तेस्रो सिक्का हालेर निकाल्ने गरी तीन प्रकारको मेसिन हुने सीआईओ ज्ञवालीको भनाई छ ।

स्कूलहरुलाई लक्षित गरेर नेपालमा भित्र्याईएको यो मेसिनलाई सार्वजनिक स्थान, सरकारी कार्यालयहरु, नीजि क्षेत्रहरु तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि राख्नको लागि माग गरिरहेका छन् । यसको प्रयोगले महिनावारी हुँदा महिलाका समस्या समाधान हुने सीआईओ ज्ञवालीको भनाई छ ।

Logo