अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा आपतकाल घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा आपतकाल घोषणा


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरेका छन् । मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल बनाउने विषयमा संसदले बजेट स्वीकृत नगरेपछि राष्ट्रपति ट्रम्पले आपतकाल घोषणा गरेका हुन् ।

शुक्रबार ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा नशालु पदार्थ, मानव तस्करी र अपराधको खतराको बादल मडारिएको र त्यसलाई रोक्न सिमानामा पर्खाल लगाउन जरुरी रहेको बताए ।

तर, राष्ट्रपति ट्रम्पको यो कदमको आलोचना भएको छ । आपतकाल घोषणाले संवैधानिक जिम्मेवारीप्रति राष्ट्रपति ट्रम्पको लापरवाहीलाई देखाउने हाउस ज्युडिसिएरी कमिटीले ठहर गरेको छ । साथै डेमोक्रेट्स सांसदहरुले ट्रम्पले आफ्नो शक्तिको गलत प्रयोग गरेको टिप्पणी गर्दै यसविरुद्ध अदालत जाने चेतावनी दिएको छ ।

संकटकाल घोषणापछि सरकारी ढुकुटीबाट आठ बिलियन डलरसम्म रकम निकासा हुनेछ र त्यो रकमलाई पर्खाल लगाउन प्रयोग गरिने छ ।

ट्रम्पले राष्ट्रपति चुनावमै मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल लगाउने कुरालाई आफ्नो एक प्रमुख एजेण्डा बनाएका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पर्खाल लगाउनका लागि ५.६ अर्ब डलरको बजेट माग गरेका थिए । तर गत डिसेम्बर महिनामा संसदले त्यसलाई अस्वीकार गरिदिएको थियो ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनका लागि आवश्यक बजेटको विषयमा सत्तापक्ष र प्रतिपक्ष दलबीच विवादका कारण सरकारी कामकाज अहिले पनि ठप्प हुँदै आएको छ ।

Logo