११ वर्षीया बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाईयो

११ वर्षीया बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाईयो


धनुषा । धनुषामा एक ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । मिथिला नगरपालिका ३ हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया रैसेलीको हत्यापछि आधा जलेको अवस्थामा शव फेला परेको हो ।

राति गाउँमै बिहेको भोज खान गएकी दुतियाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने दुतियालाई कोहीले बलात्कार गरेर हत्या गर्दै प्रमाण नष्ट गर्न जलाएको हुनसक्ने मिथिला नगरपालिका ३ का वडाअध्यक्ष राम एकवाल महतोले जानकारी दिए ।

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आधा जलेको अवस्थामा शव फेला परेपछि बालिकालाई जिउँदै अथवा हत्या गरेर जलाएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले हत्या भए पनि के कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने बताएको छ ।

फागुन १ गते छिमेकीको घरमा विहे भोज खान गएकी थिईन् । राति घर आएर फेरि उनी विहे भएकै घरमा गएकी थिईन् । राति अवेर सम्म पनि घर नआएपछि परिवारले विहेकै घरमा बसिहोला भनेर सोधपुछ गरेनन् । दोस्रो दिनपनि घर नआएपछि सोधपुछ गरिएको थियो । एक स्थानीय किसानले ट्याक्टरले खेत जोत्ने क्रममा शव जलाईएको अवस्थामा देखेका थिए ।

उखुको पातले छोपेर जलाईएको अवस्थामा दुतियाको शव फेला परेको हो । शव पुरै नग्न अवस्थामा थियो । उनले लगाएको लुगा फुकालेर घटनास्थल क्षेत्रमै राखिएको थियो ।

घटनास्थलको निरिक्षण समेत गरेका वडाअध्यक्ष महतोले बलात्कारपछि हत्या गर्दै जलाईएको हुन सक्ने बताए । ‘घटनास्थलमा हेर्दा शरिर नांगै अवस्थामा थियो । उखुको पातले जलाईएको थियो । कसैले बलात्कार गरेर हत्यापछि जलाएको हुनसक्छ’ उनले भने ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र शाहीले पनि घटनाको प्रकृति हेर्दा करणी गरेको हुन सक्ने बताए । ‘बालिकाको हत्या भएको जस्तो देखिन्छ । शवको पोष्टमार्टमले बालिकालाई जिउँदै जलाएको हो अथवा हत्या गरेर जलाएको हो भन्ने कुरा प्रष्ट हुन्छ’ शाहीले भने ।

उक्त घटनाको अनुसन्धानको लागि प्रदेश प्रहरीको आग्रहमा हेटौडाबाट डग टोली पनि आएको थियो । डग टोली आएर उक्त घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेर पुनः फर्केको हो ।

बलात्कारपछि प्रमाण नष्ट गर्न जलाएको हुनसक्नेः
रसैलीको बलात्कारपछि त्यसको सबुत मेटाउनको लागि आगो लगाएको हुन सक्ने अनुमान गरिएको छ । करणी गरेर हत्या गर्दै प्रमाण नष्ट गर्न आगो लगाएको हुन सक्ने अनुमान पनि गरिएको डिएसपी शाहीको भनाई छ ।

मृतक बालिकाको आमा नभएको बुवा मानसिक रुपमा ठिक नभएको र हजुर आमा पनि आँखा नदेख्ने भएकोले कसैले पनि उजुरी दिएका छैनन् । शव आजसम्म पनि पोष्टमार्टम हुन सकेको छैन् ।

घर परिवारकी एक्ली छोरी दुतियाको हत्यापछि परिवार विचल्लिमा परेको छ । एक बालिकाको निर्मम तरिकाले हत्या गरिएको गाउँघरमा त्रास फैलिएको छ । उनीहरुले शान्ती सुरक्षाको माग गरेका छन् ।

Logo