सरकार कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित : कांग्रेस

सरकार कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित : कांग्रेस


काठमाडौँ
गठनको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रूपमा व्याख्या गरिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेसले कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित रहेको भन्दै सरकारको आलोचना गरेको छ ।

केपी ओली नेतृत्वको सरकार गठन भएको पहिलो वर्ष सकारात्मक नरहेको कांग्रेसले ठहर गरेको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुल्ठूला सपना बाँडे पनि व्यवहारमा सरकारले परिणाममुखी काम गर्न नसकेको दाबी गरे । ‘भाषण गर्न त उहाँहरू खप्पिस नै हुनुहुन्छ तर वर्ष दिनसम्म खै परिणाम ? ’, उनले भने, ‘समाजवाद उन्मुख भन्नुहुन्छ तर कस्तो समाजवाद हो कुनै खाका छैन । समाजवाद भनेको त निमुखालाई न्याय, विपन्नलाई आय हो । यसतर्फ कुनै काम भएको छैन ।’

प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलतामा जोड दिए पनि कांग्रेसले भने सरकार सुशासन कायम गर्न असफल बनेको दाबी गरेको छ । ‘सुशासनमा त भद्रगोल नै देखियो नि, विकासमा पनि ठोस पाइला चालेको देखिँदैन’, वरिष्ठ नेता पौडेलले भने ।

अर्थतन्त्र खस्कँदै जाँदा पनि सरकार संवेदनशील नभएको पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा।रामशरण महतले बताए । ‘देश विकासको कुरा सरकारको प्राथमिकतामै छैन । दुईतिहाइको दम्भ सरकारमा छ । जे गर्दा पनि हुन्छ भन्ने अहंकार सरकारमा देखिन्छ’, उनले भने, ‘बिग्रँदो अवस्थाको अर्थतन्त्रलाई कसरी सुधार गर्दै लैजाने भन्नेतर्फ सरकारले ध्यान दिएको छैन ।

वैदेशिक लगानी घटेको छ, लगानीको वातावरण बिग्रेको छ । निर्यात घट्दै गएको छ भने आयात बढ्दै गएको छ। व्यापार घाटा ६/७ महिनामै करिब ६ अर्ब अमेरिकी डलर भन्दा बढी छ । यसलाई कसरी राम्रो मान्न सकिन्छ ? ’
अन्नपूर्णबाट

Logo