श्रीलंकामा मृत्युदण्ड दिने जागिर खान उच्च नैतिकवानको खोजी

श्रीलंकामा मृत्युदण्ड दिने जागिर खान उच्च नैतिकवानको खोजी


कोलम्बो
श्रीलंका सरकारले मृत्युदण्ड दिन दुई वटा पदमा पदपूर्ति गर्न विज्ञापन खुलाएको छ । जसमा उम्मेदवारको योग्यता ‘उच्च नैतिकवान’ हुनुपर्ने उल्लेख गरिएको छ । लागू औषध तस्करी रोक्ने अभियान अन्तर्गत मृत्युदण्ड दिनेको खोजी भएको हो ।

पदमा नियुक्त हुनेले मासिक ३६ हजार ३१० श्रीलंकाली रुपैयाँ पाउनेछन् । यो करिब २०३ अमेरिकी डलर हो । श्रीलंकामा वैधानिक रुपमा नै मृत्युदण्ड दिने व्यवस्था छ । तर सन् १९७६ देखि कसैलाई पनि मृत्युदण्ड दिइएको छैन । मृत्युदण्ड दिने जिम्मा पाएका वधिकले पाँच वर्षअघि राजीनामा दिएपछि श्रीलंकाले उनको उत्तराधिकारी नियुक्त गर्न सकेको छैन ।

विज्ञापन गरिएको पदका लागि अन्य योग्यतामा ‘मानसिक रूपमा बलियो’ १८ देखि ४५ वर्षसम्मको पुरुष हुनुपर्ने उल्लेख छ ।

पहिलो चोटि मृत्युदण्ड दिन जाँदा फाँसी दिने ठाउँ देखेपछि बिरामी परेका वधिकले सन् २०१४ मा राजीनामा दिएका थिए । त्यसपछि अर्का एक जनालाई नियुक्त गरेपनि काममा आएनन् । श्रीलंकाको संविधानले नागरिकहरूलाई सबै खालका वैधानिक पेसा, व्यवसाय र व्यापार गर्न अनुमति दिन्छ ।

श्रीलंकामा लागुपदार्थ तस्करीमा संलग्न झन्डै १३ सय जनालाई मृत्युदण्डको सजाय सुनाइएपनि कार्यान्वयन हुन बाँकी छ । सन् २००४ देखि बलात्कार, लागुऔषध ओसारपसार र हत्या जस्ता अपराधमा मृत्युदण्ड दिने व्यवस्था छ ।

श्रीलंका सरकारले सन् २०१४ देखि मृत्युदण्ड दिने वधिक पदमा कर्मचारी नियुक्त गर्न सकेको छैन । गत हप्ता राष्ट्रपति मैत्रीपाल सिरिसेनाले लागुपदार्थको तस्करीमा दोषी पाइएकाहरूलाई दुई महिनाभित्रै मृत्युदण्ड दिने बताएका थिए ।

गत महिना फिलिपिन्सको भ्रमणका क्रममा पनि उनले त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेले चलाएको लागुऔषध तस्करीविरुद्धको अभियानको प्रशंसा गरेका थिए ।

लागुपदार्थसँग सम्बन्धित घटना बढेको भन्दै राष्ट्रपति सिरिसेनाले गतवर्ष जुलाईमा मृत्युदण्डको व्यवस्था फेरि ब्युँताउने घोषणा गरेका थिए । यद्यपि उनको यो घोषणाको प्रधानमन्त्री रनिल विक्रमसिंघेले आलोचना गरेका थिए ।
एजेन्सी

Logo