कञ्चनपुरमा कसरी बरामद भयो १८ किलो सुन ?

कञ्चनपुरमा कसरी बरामद भयो १८ किलो सुन ?


(कृष्णसिंह धामी)

कञ्चनपुरमा प्रहरीले १८ किलो सुन बरामद गरेको छ । पुर्नवास नगरपालिका– २ दशरथबस्तिमा शंकर विकको घरमा लुकाईराखेको अवस्थामा प्रहरीले १८ किलो बराबरका १ सय ८ विस्कुटको सुन बरामद गरेको हो ।

सुनसँगै २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तर नियन्त्रणमा लिएकाहरुको नाम सार्वजनिक गरिएको छैन् । अनुसन्धान जारी रहेकाले उनीहरुको नाम गोप्य राखिएको प्रहरीले बताउँदैं आएको छ । प्रहरीले कहिले २ जना तथा कहिले १ जना मात्र नियन्त्रणमा लिईएको बताउँदैं आएको छ ।

काठमाडौं हुँदैं कञ्चनपुर ल्याईएको अवस्थामा उक्त सुन बरामद गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको संयुक्त टोलीले घरमा छापा मारेर सुन बरामद गरेको हो ।

काठमाडौंमै सुनबारे प्रहरीले सूचना पाएको थियो । उक्त सूचनाको आधारमा पिछा गर्दै गएको र स्थानीय प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिन सफल भईएको सीआईबी एसपी सुदिप गिरीले जानकारी दिए ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अनुसन्धानका लागि ३ महिनादेखि कञ्चनपुरमै रहेका सीआईबी एसपी गिरी तथा अपराध अनुसन्धान महाशाखा डिएसपी रुकम कुँवर लगायतको टोलीलाई केन्द्रबाट सुनबारे सूचना आएको थियो । सोही सुचनाको आधारमा आज बिहान ११ बजेतिर विकको घरमा छापा मारेर सुन बरामद गरिएको हो ।

सुन बरामद गर्दा कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सिना पनि घटनास्थलमा थिए । उपराष्ट्रपति नन्दबहादुर पुन कञ्चनपुर भ्रमणमा रहेका बेला कञ्चनपुर प्रहरी उनको सुरक्षामा केन्द्रित थियो । कञ्चनपुरको सुरक्षामा कमि आउन नदिनभन्दै कैलाली नजिक पर्ने भएकाले एसपी तिमिल्सिना पुर्नवास गएका थिए ।

विकको घरमा खानतलासी गर्दा १०८ वटा सुनका विस्कुट फेला परेको हो । सीआईबीको टोलीले काठमाडौंबाटै सुनका निगरानी गरिरहेको थियो । कञ्चनुपरमा विकको घरमा समेत प्रहरीले केही दिनदेखि विशेष निगरानी गरिराखेको र आज विहानै छापा मारेको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबी स्रोतका अनुसार उक्त सुनका मालिक भारतीय नागरिक हुन् । सुन कहाँबाट र कसरी आयो तथा त्यसको मालिक को हो ? भन्ने विषयमा अनुसन्धान भईरहेको कैलाली प्रहरी एसपी तिमिल्सिनाले जानकारी दिए ।

पछिल्लो समय अवैध सुन तस्करी रोक्न प्रहरी सक्रिय भएको देखिन्छ । विमानस्थलमा पनि बेला बेला ठूलो परिणाममा सुन बरामद भईरहेको छ । केही समय अगाडि केरुङ नाकाबाट प्रहरीले बरामद गरेको सुन राजश्व अनुसन्धान विभागमा बुझाउँदा तामा भएको थियो ।

कञ्चनपुरबाट १८ किलो सुनसहित एक जना पक्राउ

तस्बिरः पत्रकार श्याम भट्ट

Skip This
Logo