उपत्यकाको फोहोर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै

उपत्यकाको फोहोर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै


काठमाडौं

शहरी विकास मन्त्रालयले फागुन अन्तिम सातासम्ममा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

अहिले निर्माणका लागि डिजाइन र माटो परीक्षणको काम भइरहेको छ । आगामी दुई हप्तामा उक्त काम सम्पन्न गरी निर्माणका लागि बोलपत्र आह्वान गरिने मन्त्रालयका सूचना अधिकारी गणेश कर्माचार्यले जानकारी दिनुभयो । हाल फोहोर व्यवस्थापन गरिरहेको स्थान सिसडोलबाट दुई किलोमिटर टाढा दीर्घकालीन रुपमा फोहर विसर्जन स्थल निर्माण गर्न लागिएको हो । निर्माणका लागि मन्त्रालयले ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले सो निर्णय गरेको हो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोेर विसर्जन स्थल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएको थियो ।

मङ्गलबार महानगरको वातावरण व्यवस्थापन समितिका पदाधिकारीले पनि वातावरण व्यवस्थापन विभागका अधिकारीसहित फोहोरको अन्तिम व्यवस्थापन र निर्माणाधीन स्थलको अवलोकन गरेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलसहितको टोलीले बञ्चरे डाँडाकोे पूर्वाधार सक्दो चाँडो सक्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ । अहिले नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहोर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

Logo