गरीबी निवारण र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक

गरीबी निवारण र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक


दमौली

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताउनुभएको छ ।

नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियान अन्तर्गत बुधबार तनहुँ आइपुग्नु भएका डा भट्टराईले भानु नगरपालिका–९ बाइस जाँगरमा आयोजित सभामा गरीबी निवारण र बेरोजगारी समस्या हल नभएसम्म देश विकास सम्भव नरहेको बताउनु भएको हो । जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“राम्रोसँग देश बदल्ने काम नगरेसम्म कुर्चीमा बस्नुको कुनै अर्थ छैन”, उहाँले भन्नुभयो । उहाँले खुद्रे योजना भन्दा दीर्घकालीन महत्वका योजनालाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पहाडमै समृृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थाल्नुभएका डा भट्टराईले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन अभियान थालिएको बताउनुभयो । फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने डा भट्टराईले बताउनुभयो ।
रासस

Logo