रेखा थापाको ध्यानाकर्षणपछि एक्सनमा उत्रिए श्रम मन्त्री गोकर्ण विष्ट

रेखा थापाको ध्यानाकर्षणपछि एक्सनमा उत्रिए श्रम मन्त्री गोकर्ण विष्ट


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुले भन्सार छुट पाउने भन्दा बढी ल्याएका सामान कडाइका साथ जफत गर्न थालिएको भन्दै नायिका रेखा थापाले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

विमानस्थल कर्मचारीहरुले विदेशबाट आउने सामानमा कडाई गर्न थालेपछि सामाजिक सञ्जालमा जनआक्रोश बढेको थियो । उक्त कदमको विरुद्धमा रहेकी रेखाले श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएकी छन् ।

फेब्रुअरीको पहिलो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशबाट आउने यात्रुले ल्याउने सामानमा भन्सार विभागले कडाइ गर्दै आएको छ । तोकेभन्दा बढी ल्याइएका सामान जफत गर्न थालेको छ ।

उक्त कार्यले विदेशबाट आउने नेपाली मारमा परेपछि रेखाले गत सातादेखि आवाज उठाउँदैं आएकी छन् । श्रमिक माथि हुने असम्मान व्यवहार र उनीहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन माग गर्दै मन्त्री विष्टलाई कार्यकक्षमै भेटेर ध्यानाकर्षण पत्र बुझाएकी हुन् । पत्र बुझ्ने बित्तिकै मन्त्री विष्टले अर्थ मन्त्रालयसँग समन्वय सुरु गरेका छन् ।

विदेशबाट आउनेले भन्सार तिर्न पर्ने÷नपर्ने बस्तुको सम्वन्धमा भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निजी गुण्टा, झिटी भारी सम्वन्धी व्यवस्था गरिएको छ । जसले ल्याउने सामानमा सिमितता तोकेको छ । के कति ल्याउन पाइन्छ ?

व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुन्छ । लुगाफाटा, बरबिछ्यौना, गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर लाग्दैन ।

शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाइन्छ ।

घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट तथा ल्यापटप वा कम्प्युटर एक–एक थान ल्याउन सकिन्छ ।

टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ ।

सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट छ ।

एक लिटरसम्मको मदिरा बोत्तलमा भन्सार शुल्क लाग्दैन । त्योभन्दा बढी ल्याए जफत हुन सक्छ ।

पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक–एक थानमा पूर्ण भन्सार छुट छ ।

त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, आइरन, राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट छ ।

कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामान (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुन्छ ।

Logo