#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31828638976341742206423430233
नेपाल678044361741449954

काठमाडौँको फोहोरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

काठमाडौँ ।  तत्काल वैकल्पिक फोहोर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ । 

केही दिन अघि मात्र करीब एक महिनादेखि सडकमा थुप्रेको फोहोर व्यवस्थापन गर्ने काम भएको छ । पछिल्लो समय उपत्यकामा फोहोरको समस्या दिनानुदिन बढ्दै गएको छ । यसरी समस्या बढ्दै जाने हो र उपयुक्त व्यवस्थापनको पहल सम्बन्धीत निकायले नगर्ने हो उपत्यकावासीले फोहरको कारण ठूलो समस्या सामना गर्नुपर्नेमा शंका छैन । 

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहोर निस्कने गर्दछ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । 

फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले हाल फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बन्चरेडाँडालाई व्यवस्थित गर्न लामो समय लाग्ने बताउनुभयो । 

बन्चरेडाँडामा निर्माण गरिने सेनेटरी ल्याण्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने ज्ञवालीको भनाइ छ । 

आजैबाट बन्चरेडाँडालाई दीर्घकालीनरुपमा फोहोर राख्ने स्थान बनाउन काम शुरु गर्ने हो भने पनि तत्कालको लागि व्यवस्थापन गर्ने स्थान आवश्यक छ । सिसडोलमा करीब ४०/५० मिटरमाथिसम्म फोहरमा निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावना रहेकाले अब त्यहाँ फोहर बिसर्जन नगरिने भएको छ । 

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड निर्माण गरिएकोमा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ । हालसम्म पनि विगत वर्षका बजेट वक्तव्यमा तीन वर्षभित्र सम्पन्न गरिने भनिएता पनि बजेटको सुनिश्चिता हुन सकेको छैन । 

काठमाडौँ उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापनको लागि लगानी बोर्डबाट प्रक्रिया अघि बढाइएको निजी विकासकर्तासँग प्रारम्भिक सम्झौता भएको चार महिना बितिसक्दा पनि अन्तिम सम्झौता हुन सकेको छैन । 

गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन । ज्ञवालीका अनुसार यसको पूर्णरुपमा निर्माण गर्ने काम काठमाडौँ महानगरपालिकाको हो । निर्माणको लागि कामपाले पहल आजैबाट शुरु गर्नुपर्ने छ । अन्यथा फोहोरको कारण अत्यन्तै ठूलो समस्या आउँछ । 

यता काठमाडौँ महानगरपालिकाले भने दीर्घकालीनरुपमा फोहोर राख्ने स्थान बन्चरेडाँडा निर्माणको काम केन्द्र सरकारको हो भन्दै आएको छ । कामपाका सहप्रवक्ता नवराज ढकालले केन्द्र सरकारसँग समन्वय गरेर निर्माण काम छिटो शुरु गर्ने जानकारी दिनुभएको छ । रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार