पार्टी एकताको काम केही दिनमा नै सकिन्छ- प्रचण्ड

पार्टी एकताको काम केही दिनमा नै सकिन्छ- प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उनले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताएका हुन् ।

उनले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उनले भने, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।” उनले पार्टी एकता सफल पार्न एक दुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राखे ।

वैचारिक र राजनीतिक रुपमा नयाँ चरणमा पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनले भावनात्मक रुपमा अलगअलग धारमा अगाडि बढेका नेता, कार्यकर्तालाई यस्ता कार्यक्रमले एक ठाउँमा ल्याउने बताए ।

जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने उहाँको भनाइ रहेको बताए । उनले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने बताए ।

“हामीले ठूला ठूला राजनीतिक परिवर्तन सबै एक ठाउँमा आएर हासिल गरेका हौँ”, उनले भने, “अहिले हामी सबैको एजेण्डा समृद्ध नेपाल र विकसित नेपाल हो । देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीसमेत आवश्यकता रहेको छ ।” उनले हिजो विभिन्न जनआन्दोलनमा सहभागी सबै पार्टीलाई सबै खालको भ्रम र विग्भ्रम छोेडेर मुलुकलाई साकार पार्ने दिशा सबै दल लाग्नुपर्ने बताए ।

अध्यक्ष दाहालले लोकतान्त्रिक तरिकाले कम्युनिष्ट पार्टीको एकता र दुई तिहाइको लोकप्रिय बहुमतले प्राप्त गरेकाले कम्युनिष्टका लागि योभन्दा ठूलो र युगान्तकारी परिवर्तन केही हुन नसक्ने धारणा राखे  । मुलुकको विकास गर्नका लागि अहिलेको विकल्पभन्दा अर्को विकल्प नभएकाले अहिलेको बाटोले मात्र समाजवाद, सामाजिक न्यायतिर जान सक्ने भन्दै उनले भने, “यही बाटो मात्र तपाइँ हामीले देखेको सपना पूरा गर्न सक्दछौँ । त्यसैले सवै राजनीतिक दल हाम्रा शहीदका सपना पूरा गर्दै नयाँ गोरेटो बाटो हुँदै नेपाललाई अगाडि लैजान सक्दछौँ ।”

Logo