#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32420102987813749819123934098
नेपाल693014531843750411

डाक्टरहरुलाई तोकिएको कार्यक्षेत्रमा जान कडा निर्देशन (भिडियोमा)

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई कडा निर्देशन दिनु भएको छ । उपप्रधानमन्त्री यादवले काठमाडौं बाहिरका अस्पतालहरुमा खटाइएका चिकित्सकहरु कार्य क्षेत्रमा नजाने गरेको उल्लेख गर्दै सबैलाई आ– आफ्नो कार्य क्षेत्रमा जान सचेत गराउनु भएको हो । उहाँले वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई तोकिएको अवधिभर डयूटी गर्न पनि निर्देशन दिनु भयो ।

वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले अस्पतालमा पर्याप्त समय नदिने गरेको जनगुनासो आईरहेको उल्लेख गर्दै ‘डयूटी आवर’ भित्र अस्पतालकै सेवामा रहन सचेत गराउनु भएको हो ।

वीर अस्पतालको १ सय २९ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चिकित्सकहरुको पहिलो कर्तव्य उपचार भएकाले त्यसलाई पूरा गर्न प्रतिवद्धताका साथ अघि बढनुपर्नेमा पनि जोड दिनु भयो । उपप्रधानमन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नभई सेवाको क्षेत्रको रुपमा विकास गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौंधरीले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रको विकासमा लागि पर्न मातहतका निकायलाई सचेत गराउनु भयो । उहाँले वीर अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिनु भयो ।

मुलुकको सबैभन्दा जेठो अस्पतालको रुपमा रहेको वीर अस्पतालले सर्वसाधारणको थप उपचारका लागि छाती, बाथ रोग तथा हेमाटोलोजीसम्बन्धि विशेषज्ञ सेवा पनि सुरु गरेको छ । अस्पतालले ६ सय बेडको अत्याधुनिक भवन निर्माणको कामलाई तीव्रता दिएको पनि अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिनु भयो । अस्पतालले इमर्जेन्सी सेवालाई पेपरलेस बनाउने प्रक्रियालाई पनि अघि बढाइएको दावी गरेको छ ।

सम्बन्धित समाचारहरु