कारागारबाट ६ कैदीबन्दी फरार

कारागारबाट ६ कैदीबन्दी फरार


रूपन्देहीको भैरहवास्थित बाल कारागारबाट ६ जना कैदीबन्दी फरार भएका छन्। सोमबार राति उनीहरु फरार भएका हुन्।

फरार हुनेमा चारजना चोरी मुद्दाका र दुई जबरजस्ती करणीका कैदी बन्दी फरार रहेको बालसुधार गृह रुपन्देहीले जनाएको छ। गृहकी प्रमुख सुभद्रा गौतम कोठाको झ्याल फोडेर भान्सा कोठा हुदै तारे जाँलीले घेरिएको गेट र शुरक्षामा रहेका प्रहरीको आँखा छिचोलेर फरार भएको बताईन ।

फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन् । भाग्नेमा चोरी मुद्दामा एक महिना १५ दिन सजाय र ८८ हजार एक सय रुपैयाँ जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल छन्।

त्यस्तै चोरी मुद्दामा एक महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार रहेको बाल सुधार गृह रुपन्देहीले जनाएको छ।

१८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ। यस गृहमा बिभिन्न मुद्धाका ७२ जना कैदी बन्दी रहेका छन् । फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी कार्य त्रिब पारिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए ।

Skip This
Logo