ब्रिटाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदैं, प्रचण्डले उद्घाटन गर्ने

ब्रिटाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदैं, प्रचण्डले उद्घाटन गर्ने


काठमाडौं । ‘बेल्ट एण्ड रोड इन्टरनेशनल ट्रान्सपोर्ट एलाईन्स’ (ब्रिटा) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । विश्वका ३३ राष्ट्र र संस्थाहरु सहभागी निर्माण गरिएको ब्रिटाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुन लागेको हो ।

फेब्रुअरी २५ देखि २७ तारिखसम्म ललितपुरको होटल हिमालयमा हुने सम्मेलनको पूर्व प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ब्रिटाको पहिलो सम्मेलन बेईजिङमा भएको थियो ।

‘बेल्ट एण्ड रोड ईनिसेटिभः नेपाल कनेक्टिङ द वर्ल्ड बेनिफिट्स एण्ड च्यालेन्जिङ’ भन्ने नाराका साथ हुने सम्मेलनमा इञ्जिनियर व्यवसायी, स्थानीय सरकारका प्रतिनिधि, केन्द्र तथा प्रदेश सरकारका प्राविधिक र पदाधिकारी, विभिन्न संघसंथाका प्रतिनिधि तथा कलेजहरुबाट सहभागिता रहने छ ।

१३० जना सहभागी हुने सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल इन्जिनियरिङ एशोसिएशन लगायतका संघ संस्थाको प्रस्तुति रहनेछ ।

सडक बोर्डसँगको सहकार्यमा हुने सम्मेलनको आयोजक ब्रिटा तथा तथा व्यवस्थापकमा नासा फाउन्डेसन तथा संयोजन नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले गर्नेछ । उक्त कन्फ्रेन्स संचालन गर्नका लागि मेघराज पौड्यालको संयोजकत्वमा सचिवालय तथा आशिष गजुरेल लगायतको विज्ञ टिमको गठन गरिएको छ ।

सो सम्मेलन बेल्ट एण्ड रोड ईनिसेटिभ अन्तर्गत नेपालमा भईरहेको सडक यातायात क्षेत्रसँग सम्बन्धित सम्भवत पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा चीन, भारत, संयुक्त अधिराज्य, लात्भिया, नाइजेरिया र मलेसिया लगायतका एक दर्जन देशका तीन दर्जन सहभागी हुने छन् ।

सडक सहितका पूर्वाधार, एसियन हाइवे, स्टार रेटिंङ्ग रोड्स, ड्राइभ टुरिजम र टुडे ट्रान्सपोर्ट ब्यबस्थापन र सुरक्षा जस्ता मूल विषयमा लगभग दुई दर्जन वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यो संगठनले मुलतः वान बेल्ट वान रोड सम्बन्धि नीतिगत कार्यमा सहयोग, प्राविधिक शिप तथा ज्ञान हस्तान्तरण, जनस्तरबाट बेल्ट एण्ड रोड मा सहभागिता, बेल्ट एण्ड रोड का विभिन्न पक्षहरुमा सुझाव तथा लबिङ्ग, सभा, समारोह, तालिम तथा अध्ययन-अनुसन्धान लगायतका कार्यहरु गर्दै आएको छ ।

यो संस्थामा नेपालबाट नासा फाउन्डेसन बोर्ड मेम्बरको रुपमा रहेको छ भने चाईना हाईवे एण्ड ट्रान्सपोर्ट सोसाईटीले सचिवालयको काम गर्दै आएको छ ।

Logo