काठमाडौंमा नयाँ १८ वटा पार्क थपिँदै

काठमाडौंमा नयाँ १८ वटा पार्क थपिँदै


काठमाडौँ

काठमाडौं जिल्लामा १८ वटा नयाँ पार्क थपिने भएका छन्  । काठमाडौं महानगर र आसपासका नगरपालिकामा पार्क थपिने भएका हुन् । काठमाडौं महानगरले आफैँले नौ वटा र छिमेकी नगरपालिकाले नौ वटा पार्क बनाउने भएका छन् ।

महानगरले आइतबार नौ वटा नगरपालिकालाई एक/एक करोड रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकासँग सम्झौता गरेको हो । टोखा नगरपालिकाले भने गत २० असारमै पार्क बनाउन आर्थिक सहयोगको रकम लगिसकेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको एकीकृत विकासका लागि नगरपालिकाबीच एउटै मत भएको बताए । ‘महानगरभित्र गर्नुपर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौँ । तर छिमेकी नगर समृद्ध नभई महानगर एक्लै समृद्ध हुन सक्दैन,’ उनले भने, ‘त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेका हौँ ।’ उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको समग्र विकासमा नगर—नगर साझेदारी कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
नयाँ पत्रिकाबाट

Logo