भेनेजुएला प्रकरणमा जिब्रो चिप्लँदा समस्या भयो : नेता नेपाल

भेनेजुएला प्रकरणमा जिब्रो चिप्लँदा समस्या भयो : नेता नेपाल


मकवानपुर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले भेनेजुएला प्रकरणलाई धेरै चर्काउनु उपयुक्त नहुने बताएका छन् । उनले समस्यालाई हल गरेर जानुपर्नेमा जोड दिँदै जिब्रो चिप्लँदा समस्या भएको बताए । उनले भने ‘मिडियामा धेरै बोल्नु हुँदैन, जिब्रो छिटो चल्दा चिप्लेर समस्या भयो ।’

आइतबार हेटौंडामा पत्रकारसँग कुरा गर्दै नेता नेपालले कांग्रेसले चुनावमा व्यहोरेको पराजयका कारण निरास भएकाले आन्दोलन गरेको बताउँदै उनले भ्रष्टाचार, वाईडबडी प्रकरण, ३३ किलो सुन, सुशासनबारे कुरा उठाउनु उचित भएको बताए । ‘जायज कुरा सकारात्मक रुपमा उठाउनु ठिकै हो,’ उनले भने, ‘आफ्नो नेताले भ्रष्टाचार गर्दा चुप बस्ने तर अरुले सानो गल्ती गर्दा आकाश पाताल जोड्ने कुरा गर्नु हुँदैन ।’

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताउनु भएको छ ।

पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै उहाँले यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २० औँ साधारणसभा एवं दशौँ अधिवेशनको रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै महासचिव पौडेलले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढङ्गले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताउनुभयो ।

Logo