नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख

नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख


काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास लगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत हनुहुन्छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उपचारमा सुधार नभएपछि माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

अधिकारीलाई श्वासप्रश्वास लगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान कोइरालाले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ”, उहाँले भन्नुभयो । अधिकारीको उपचारमा डा अर्जुन कार्की, डा राजु पँगेनी, डा कोइराला, डा मनबहादुर केसीलगायत संलग्न हुनुहुन्छ ।

अधिकारीकी धर्मपत्नी सबिता अधिकारीका अनुसार मेडिसिटी अस्पतालमा एक महीना राख्दा पनि सुधार नआएपछि ह्याम्स अस्पताल भर्ना गरिएको हो । बाहिर हल्ला आएजस्तो उपचारमा कुनै लापर्वाही नभएको बरु उपत्यकाका विशिष्ट चिकित्सकसँग परामर्श गरेर थप उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो । बयासी वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।
रासस

Logo