दैनिक २२ किलोमिटर हिँडेर स्कुल आउजाउ !

दैनिक २२ किलोमिटर हिँडेर स्कुल आउजाउ !


प्युठान

माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन् । राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ । केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन् । तीन घण्टा पैदल यात्रापछि मात्र उनी विद्यालय पुग्छिन् । बिहानै गाडी पाउँदैन । संयोगवश गाडी भेटिहाले पनि रोक्दैनन् ।

ठेडीलाई राम्रोसँग पढ्ने भन्दा धेरै पिरलो विद्यालय पुग्ने र फर्किनेमै हुने गरेको छ । बिहान घरमा परिवारसँग बसेर खाना खानु उनका लागि बिरानो बनिसक्यो । चिया, नास्ता खाएर टिफिनको खाना बोकेर उनी दिनहुँ विद्यालय पुग्ने गर्छिन् । अतिरिक्त कक्षा र ट्युसन पढ्दा पाँच बजेनै उनी विद्यालय हिँड्नुपर्छ । दिन छोटा हुँदा अँध्यारोमा हिँड्नै मुस्किल हुने गरेको उनी दुःखेसो पोख्छिन् ।

नौ कक्षामा अध्ययनरत १७ वर्षकी ठेडीको दैनिकी विद्यालय आउने–जाने चिन्ताले बित्ने गरेको छ । थकानले गर्दा राम्रोसँग पढ्न पाउँदैनन् । झोलाभरि कापी, किताब बोकेर उनीसहित थुप्रै विद्यार्थी घण्टौँ पैदल यात्रापछि मात्र विद्यालय पुग्ने गरेका छन् । माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा पढ्न जाने टाढाका बालबालिकाले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका छन् ।

११ किलोमिटर टाढाको दूरीबाट बालबालिका हिँडेर विद्यालय पुग्ने गर्छन् । थक्लेनी, कुमालटार, सिमलचौर, एकचोटे लगायत क्षेत्रका बालबालिकालाई विद्यालय पुग्नै सकस हुने गर्छ । जसपुर, चकचके, आपचौर, सल्लीकोट, नरसुउदयपुरकोट, धाइरेचौर र भलावाङका बालबालिकासमेत घण्टौँ हिँडेर विद्यालय जाने गर्छन् ।

गाउँमै माध्यमिक तहसम्म पढाइ हुने विद्यालय नहुँदा टाढाका बालबालिका घण्टौँ हिँडेर विद्यालय पुग्ने गरेका छन् । बस्ती छरिएकाले टाढाका गाउँमा मावि सञ्चालन गर्न समस्या हुने सम्बन्धित विद्यालयले जनाएका छन् ।
अन्नपूर्णबाट

Logo