उखु किसानद्वारा महोत्तरीको एभरेष्ट चिनी मिल बन्द

उखु किसानद्वारा महोत्तरीको एभरेष्ट चिनी मिल बन्द


महोत्तरी

उखु आपूर्ति पुर्जीको माग गर्दै महोत्तरीका उखु किसानहरुले गौशालामा रहेको एभरेष्ट सुगर उद्योग बन्द गराएका छन् । किसानहरुले समयमै चलानको माग गर्दै बिहीबार दिउँसो २ बजेदेखि मिल बन्द गराएका हुन् ।

पीडित किसान देवकुमार महतोका अनुसार उखुको मूल्य निर्धारणसम्बन्धी विवादका कारण गएको वर्षको तुलनामा एक महिना ढिलो गरी मिल सञ्चालन भएको थियो । माघ महिना बित्न लागेको समयमा उद्योगले चलान नदिएपछि उखुको तौल घट्नुको साथै गर्मीको समयमा उखु काट्नका लागि समस्या हुने भएकाले किसानहरुले समयमै चलान पाउनुपर्ने किसान महतोले दावी गर्नुभयो ।

चलानको सम्बन्धमा ठोस निर्णय नहुन्जेलसम्मको लागि मिल बन्द रहने मिल व्यवस्थापन पक्षले जनाएको छ । उद्योगले हालसम्म ७ लाख ७४ हजार क्विन्टल उखु क्रसिंग गरेको मिलको प्रशासन शाखाले जनाएको छ ।

Logo