भारतमा मोदीको पार्टीलाई अज्ञात स्रोतबाट प्राप्त भयो ५.५ अर्ब भारु

भारतमा मोदीको पार्टीलाई अज्ञात स्रोतबाट प्राप्त भयो ५.५ अर्ब भारु


एजेन्जी । भारतमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई अज्ञात स्रोतबाट मोटो रकम प्राप्त भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भाजपालाई ५.५ अर्ब भारु अज्ञात स्रोतबाट फेला परेको हो ।

आर्थिक वर्ष २०१७–१८ मा भाजपालाई ५.५ अर्ब भारु चन्दा रकम अज्ञात स्रोतहरुबाट संकलन भएको हो । यो रकम कांग्रेस, बहुजन समाज पार्टी (बसपा), राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी), तृणमूल कांग्रेस र भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) लाई प्राप्त कुल चन्दाभन्दा चार गुणा बढी हो ।

भारतमा पार्टीले प्राप्त गरेको २० हजार भारुभन्दा कम चन्दा रकमलाई अज्ञात चन्दा मानिन्छ । किनकि प्राप्तकर्ता पार्टीहरु यी चन्दा दाताहरुको पहिचान उजागर गर्न बाध्य हुँदैनन् ।

चुनाव सुधारमा काम गर्ने संस्था एसोसिएशन फर डेमोक्रेटिक रिफर्म (एडीआर) का अनुसार भाजपालाई अज्ञात स्रोतहरुबाट प्राप्त चन्दा उपरोक्त सबै ६ पार्टीहरुले सन् २०१७–१८ मा प्राप्त गरेको कुल ६.८९ अर्ब भारु चन्दाको ८० प्रतिशत हो ।

एडिआरले अज्ञात स्रोतबाट यी ६ पार्टीहरुलाई प्राप्त गरेको चन्दाको गणना पार्टीहरुद्वारा दायर आयकर रिटर्नको आधारमा गरेको थियो । एडिआरको रिपोर्ट अनुसार कांग्रेसले यो आर्थिक वर्षमा १.१९ अर्ब भारु चन्दा संकलन गरेको थियो ।

त्यस्तै बिएसपीलाई १० करोड ६७ लाख भारु र एनसीपीलाई ५ करोड ३७ लाख भारु र सीपीआईलाई सबैभन्दा थोरै ३० हजार भारु चन्दा प्राप्त भएको थियो ।

Logo